काठमाडौँ :
अभिनेत्री प्रियंका कार्की हाल विभिन्न रियालिटी शो तथा टेलिभिजन कार्यक्रममा व्यस्त रहनेक्रममै अबदेखि पैसा र भोटिङको आधारमा निर्णय हुने कुनै पनि शोमा सहभागी नहुने घोषणा गरेकी छन्। मंगलबार ‘स्टुडेन्ट अफ द इयर’ नामक नयाँ रियालिटी शोको पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएकी हुन्।
कार्यक्रममा प्रियंका र कन्टेन्ट क्रिएटर इभा गिरीलाई जजको रूपमा प्रस्तुत गर्ने तय गरिएको थियो। तर सम्मेलनको बोल्ने क्रममा प्रियंकाले रियालिटी शोमा हुने भोटिङ प्रणाली र पैसाको चलखेलप्रति कडा आपत्ति जनाउँदै शोमा निरन्तरता नदिने घोषणा गरिन्।
“आइ एम सो सरी, यदि शोमा भोटिङ छ भने म यो शो गर्न सक्दिन,” उनले भनिन्। पैसा र भोटिङका कारण धेरै ट्यालेन्टेड प्रतिस्पर्धीहरू अन्यायग्रस्त हुने गरेको उल्लेख गर्दै प्रियंकाले विगतमा पनि यस्ता शोमा अन्यायविरुद्ध आवाज उठाएको दाबी गरिन्। “धेरै शोमा म कन्टेस्टेन्टसँगसँगै रोएकी छु, फाइट गरेकी छु,” उनले स्मरण गरिन्।
उनका अनुसार पैसाको प्रभाव रहने अधिकांश रियालिटी शोका दोस्रो सिजनमा उनी सहभागी भएकी छैनन्। “रोडिज मात्र एउटा शो हो जहाँ पैसाको चलखेल हुँदैन। त्यसैले त्यो शो म निरन्तर गरिरहेको छु,” उनले स्पष्ट पारिन्।
कार्यक्रमका आयोजक पक्षलाई आफ्नो निर्णयको कारण बताउँदै प्रियंकाले थपिन्, “तपाईंहरूको शो हो, तपाईंहरू जसरी चाहनुहुन्छ गर्न सक्नुहुन्छ। तर भोटिङ–पैसाले निर्णय हुने संरचनामा म अबदेखि रहने छैन।”
प्रियंकाले अन्त्यमा भनिन्, “मैले अडान लिएको छु। यदि यो कुरा भाइरल भयो भने कन्टेस्टेन्टहरूले नै कमेन्टमा लेख्नेछन् कि मैले उनीहरूको लागि कति लडेकी छु।”