सुचना, समाचार र मनोरन्जन

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

काठमाडौं :

फिल्म ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो।

‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत तथा सलिना बिकेको स्वर रहेको छ। सपना साकार हुन नपाउँदै भत्किएको संसारको पीडा गीतमा सुन्न सकिन्छ। वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथालाई समेटिएको यस गीतमा सपना भताभुंगा हुँदा उत्पन्न हुने पीडा र छटपटी मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको व्यक्ति कसरी पलपलमा टुक्रिँदै जान्छ ? चोखो प्रेमको गहिराइमा रहने र त्यसको मूल्य नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकेको छ।

गीतको कथालाई भिडियोमार्फत देखाउन आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ प्रस्तुत छन्। वियोगान्त गीतले फिल्मको कथावस्तुको संकेत गर्छ। प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर फिल्ममा रहेको गीतबाट अनुमान गर्न सकिन्छ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। फिल्ममा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

माघ १६ गते रिलिज हुने फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन्। स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’मा भोलानाथ कटुवाल र रमन ग्रे को–प्रोड्युसर रहेका छन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।

नरेन्द्र मैनालीकै छायांकन रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

Leave A Reply

Your email address will not be published.