काठमाडौं :
नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा बृहत पिकनिक कार्यक्रम वि.सं. २०८२ माघ १० गते शनिबार सभ्य, भव्य तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
संघको लामो इतिहास, संघर्ष र उपलब्धिलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा कलाकारहरूबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि हुनुका साथै संघको संस्थागत गरिमा र उद्देश्य पुनः उजागर भएको सहभागीहरूले बताएका छन्। कलाकारहरूको साझा संस्थाका रूपमा स्थापित संघले कलाकारको पेशागत अधिकार, सामाजिक सुरक्षा, सम्मान तथा नेपाली लोक र आधुनिक संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कार्यक्रम नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै आईजीपी कार्कीले राष्ट्रिय संगीतकर्मी संघले संगीत तथा सांस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे। कलाकार समाजका ऐनाजस्तै भएको उल्लेख गर्दै उनले कलाकारको हकअधिकार, सामाजिक सम्मान र सांस्कृतिक पहिचान जोगाउन संघले खेलेको भूमिका उदाहरणीय रहेको बताए। साथै संघसँग आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
संघका अध्यक्ष प्रकाश कटुवालले संघको स्थापना कालदेखि हालसम्मको यात्रा, चुनौती, संघर्ष र उपलब्धिबारे प्रकाश पारे। उनले संघ कलाकारहरूको साझा अभिभावक संस्थाका रूपमा स्थापित हुनुमा विगतका नेतृत्व, सदस्य तथा शुभेच्छुकहरूको योगदान अविस्मरणीय रहेको बताए। वर्तमान कार्यसमितीले संस्थागत सुदृढीकरण, पारदर्शिता, सक्रियता र परिणाममुखी कार्यदिशालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी पनि दिए।
कार्यक्रममा संघको वर्तमान कार्यसमितीले गरेका कार्यहरूको समीक्षा गर्दै उपस्थित कलाकार, अतिथि तथा शुभेच्छुकहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए। अध्यक्ष कटुवालको नेतृत्वमा संघले पछिल्लो समय संस्थागत सुधार, सदस्य विस्तार र कलाकारसँग प्रत्यक्ष संवादमा उल्लेखनीय प्रगति गरेको सहभागीहरूको भनाइ थियो।
उक्त अवसरमा समाज, पत्रकारिता, व्यवसाय, सेवा तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल प्रहरीका पहिलो सगरमाथा आरोही प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा, समाजसेवी कमल जिसी, ग्रीन सिटी हस्पिटलका सञ्चालक प्रविन टण्डन, समाजसेवी केशव सापकोटा, सफल व्यवसायी विनोद श्रेष्ठ, अशोक गिरीलगायत रहेका छन्।
कार्यक्रमका संयोजक तथा संघका उपाध्यक्ष मेश दुलाल ‘कागे’ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, समाजसेवी, शुभेच्छुक, प्रायोजक तथा अतिथिप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले कलाकारबीच एकता, आपसी समझदारी र संगठनात्मक मजबुती बढाउने बताए।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र कार्कीलगायतले कलाकारको हकहितका विषयमा मन्तव्य व्यक्त गरेका थिए। विशिष्ट अतिथिमा संघका सल्लाहकारसमेत रहेका नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराई, संघका सल्लाहकार एवं जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाली कांग्रेस रामेछापका पूर्व सभापति तथा हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा करिब ७०–८० जनालाई आजीवन सदस्यता वितरण गरिएको संघले जनाएको छ। महासचिव विनोद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने विभिन्न चर्चित कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा सयौँ कलाकारहरूको उपस्थिति रहेको थियो।
