काठमाडौं :
नेपाली रंगमञ्च र फिल्मका लोकप्रिय कलाकार विजय बरालले गायनमा डेब्यु गरेका छन्। उनी पहिलो पटक ‘विधिको शासन’ गीत मार्फत स्वर दिएका छन्, जसले देशको समसामयिक राजनीतिक अवस्था र सामाजिक विसंगतिलाई चित्रण गरेको छ।
गीतमा शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। भदौ २३ र २४ मा काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरू गीतको मूल मर्ममा समेटिएका छन्।
गीतको भिडियो पनि विशेषगरी शक्तिशाली बनाइएको छ। मनिष राउतको कन्सेप्टमा तयार भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू समावेश छन्। २०४० सालका आन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा युवाहरूको आक्रोश र प्रहरी दमन भिडियोमा प्रभावकारी ढंगले देखाइएको छ। यसले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई ऐतिहासिक डकुमेन्ट्री–जस्तो ओजनदार बनाएको छ।
विजय बराल हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको फिल्म ‘सिन्दुरे जात्रा’ मा अनुबन्ध भएका छन्। यस फिल्ममा विजयसँग अञ्जना बराइली मुख्य जोडीका रूपमा प्रस्तुत हुने छ। यी दुवै कलाकार निर्देशक पौडेलसँगको दोस्रो सहकार्य हुन्। यसअघि उनीहरूले पौडेलकै निर्देशनमा बनेको ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए, जुन नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको थियो।