सुचना, समाचार र मनोरन्जन

७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

विभागीय बैठकमार्फत सम्पन्न कामको जानकारी र आगामी कामको सहजीकरण गर्ने क्रम जारी

काठमाडौँ :

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल प्रणालीमा कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन्।

चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यास र विभागीय तथा क्षेत्रगत कामको नतिजा हासिल गर्न नीतिगत रूपमा गर्नुपर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज शिक्षा विभागका अधिकारीहरूसँगको छलफलमा कार्यवाहक प्रमुख डंगोलले उक्त निर्देशन दिएकी हुन्।

शैक्षिक सुधारका विषयमा उनी भन्छिन्,“नियमितता विद्यार्थीको मात्र होइन, शिक्षक र कर्मचारीको पनि चाहिन्छ। दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ। हामी एसईईको नजिक आउँदैछौं। गएको वर्ष प्राप्त नतिजालाई क्रमशः बढाउँदै लैजानुपर्छ। तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थपलगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन दिनु हुँदैन। तथ्यले नतिजामा सुधार देखिनुपर्छ। यसमा छुट सुविधा कसैलाई हुँदैन।”

छलफलका क्रममा भृकुटीमण्डपस्थित पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षण प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमको गुणस्तर तथा सुधारका पक्षमा समेत चर्चा गरिएको थियो।

यसैगरी दर्ता भएका तर सञ्चालनमा नरहेका विद्यालयहरूको खारेजी प्रक्रिया, सामाजिक विकास विभाग अन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकास कक्षाहरूको व्यवस्थापन, विद्यालयस्तरका खेलकुद तथा अतिरिक्त क्रियाकलापलगायत विषयहरू पनि छलफलमा समेटिएका थिए। छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालसहित सम्बन्धित अधिकारीहरू सहभागी थिए।

Leave A Reply

Your email address will not be published.