काठमाडौं :
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बुकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार फिल्ममा समावेश ‘तिमी मैसँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा उनीहरूको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ। प्रेम र यात्राको कथा बोकेको यस गीतमा दुई पात्रबीचको आत्मीयता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
देबेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतको सुमधुर संगीत छ। भिडियोको सुरुवातमा फिल्मका मुख्य पात्र देबेन्द्र बब्लु आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै विगतका सफलता वा प्रेमको सम्झनामा हराएको देखिन्छन्। भिडियो अघि बढ्दै जाँदा देबेन्द्र र रोशनी कार्कीबीचको प्रेममय यात्रा सुरु हुन्छ। सुरुवातमा देखिएको नोस्टाल्जिया र अन्त्यतिर प्रस्तुत गरिएको भावुक विछोड तथा पीडाले दर्शकलाई सोच्न बाध्य बनाउँछ—के यी सबै केवल पुराना सम्झनाहरू मात्र हुन्?
अभिनेत्री रोशनी कार्कीको भक्कानिएर रोएको दृश्य र देबेन्द्रको मौन अभिव्यक्तिले भिडियोलाई अझ प्रभावशाली बनाएको छ। भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका क्षेत्रलाई अत्यन्त सुन्दर ढंगले खिचिएको छ। सडक यात्रा, हिउँले ढाकिएका पहाड र स्थानीय गाउँबस्तीले भिडियोलाई ‘ट्राभल ब्लग’ जस्तै जीवन्त बनाएका छन्। ड्रोन सटको प्रयोगले नेपालको हिमाली भेगको विशालतालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
गायक देबेन्द्र बब्लु आफ्नो गायकीका लागि परिचित त छन् नै, यो भिडियोमा उनको अभिनय पनि परिपक्व देखिएको छ। अभिनेत्री रोशनी कार्कीसँगको उनको जोडी स्वाभाविक देखिन्छ। उनीहरूले साना–साना पलमा देखाएको खुसी र अन्त्यतिरको भावुकताले दर्शकको मन छुन्छ।
‘बुकी’को यो पहिलो गीतले फिल्म गम्भीर र भावनात्मक प्रेमकथामा आधारित रहेको स्पष्ट पारेको छ। ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’ को प्रस्तुति रहेको फिल्म ‘बुकी’ मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायत कलाकारको अभिनय देख्न सकिनेछ।
फिल्मको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटनलगायत रमणीय क्षेत्रमा गरिएको छ। लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन्। राजेश थापा र बसुन्धरा खरेल ‘क्रिएटिभ प्रोडुसर’ रहेका छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसरका रूपमा छन्।
फिल्ममा आशुका अर्याल एसोसिएट निर्देशक, आचार्य गोपाल चिफ असिस्टेन्ट निर्देशक तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशक रहेका छन्। विकास गन्धर्व डीओपी रहेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। श्याम मल्लको श्रृंगार, थम्मन थापाको प्रोडक्सन हेडिङ तथा राकेश दाहालको पब्लिसिटी डिजाइन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तय नभए पनि निर्माण पक्षले सन् २०२६ भित्र देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ।