सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बिगुल’को प्रचार–प्रसार आक्रामक, पश्चिम नेपाल टुर सम्पन्न

काठमाडौं :

चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचार–प्रसार आक्रामक बन्दै गएको छ। फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।

केही साताअघि पूर्वी नेपालका विभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेको ‘बिगुल’ टिमले यसपटक बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज र पोखरामा दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो।

पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौंडा र चितवनको टुरपछि गत साता निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्का पश्चिम नेपालको यात्रामा निस्किएका थिए। दर्शकमाझ पुगेर ‘बिगुल’ बारे जानकारी गराउँदा निकै सकारात्मक प्रतिक्रिया पाएको निर्माता दिनेश कोइरालाले बताए।

“हामी जहाँ–जहाँ पुग्यौं, सबै ठाउँमा दर्शकहरू ‘बिगुल’ हेर्न प्रतीक्षारत रहेको पायौं,” उनी भन्छन्, “स्थानीय लब्धप्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, नेपाल जेसिसका पदाधिकारी, स्कुल, कलेजलगायत विभिन्न पेशाकर्मीले हामीलाई निकै साथ दिनुभएको छ। ‘बिगुल’ ले उठाएको जनताको आवाजप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ।”

अभिनेता नरेन खड्काले ‘बिगुल’ ले हरेक उमेर, वर्ग र समुदायका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।  “बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज र पोखरा—जहाँ–जहाँ हामी पुग्यौं, सबै ठाउँमा ‘बिगुल’ को कन्टेन्टले दर्शकको ध्यान खिचेको पायौं। दर्शकहरू फिल्मको प्रतीक्षामा हुनुहुन्छ,” उनले भने।

निर्देशक रमेश कोइरालाले भुइँमान्छेको कथा बोल्ने ‘बिगुल’ प्रति सबै वर्गका दर्शकले चासो देखाएको बताए। वर्तमान राजनीतिक परिस्थितिलाई यथार्थतासाथ पर्दामा प्रस्तुत गरिएको देख्दा दर्शकहरू अचम्मित भएको अनुभव पनि उनले सुनाए।

समसामयिक राजनीतिक खिचातानी, पारिवारिक दायित्व, जिम्मेवारी र आम नेपालीको मौलिक हक–अधिकारको विषय उठान गरिएको यस फिल्मको मोफसल प्रचार–प्रसार कार्यक्रममा नेपाल जेसिसले महत्वपूर्ण साथ दिएको थियो। जेन्जीको भावनासमेत समेटिएको बताइने फिल्मको टिमले मंगलबार पोखराका विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरूसँग समेत भेटघाट गरेको थियो।

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्कासँगै बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, नवअभिनेत्री मीरा पण्डित, मानश्री शर्मा र रवीन्द्र खड्काको अभिनय रहेको छ।

महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिब ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन्। फिल्मको वितरण राजधानीभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्दैछ।

Leave A Reply

Your email address will not be published.