काठमाडौँ :
यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई थप व्यापक बनाउने उद्देश्यले कलाकारसहितको टिम पोखरा पुगेको हो।
पोखरा पुगेका कलाकारमा विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त र साइग्रेस पोखरेल रहेका छन्। उनीहरूसँगै फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पनि पोखरा पुगेका छन्। पोखरा पुगेलगत्तै निर्माण टिमले प्रेस मिट आयोजना गरेको कार्यकारी निर्माता रसालीले जानकारी दिए।
चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमार्फत सिनेमाको कथावस्तु, उद्देश्य तथा निर्माण पक्षबारे जानकारी गराइएको हो। आमा–सन्तानबीचको गहिरो भावनात्मक सम्बन्ध, संघर्ष, माया र समर्पणलाई केन्द्रमा राखेर निर्माण गरिएको यस सिनेमाले दर्शकको मन छुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

उनका अनुसार पोखरामा फिल्मका विषयवस्तु र निर्माण प्रक्रियाबारे मिडियालाई थप जानकारी गराइएको हो। सोमबार मात्रै यस फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको थियो।
फिल्मका निर्देशक चन्द्र पन्तले यस फिल्मको प्रचार–प्रसारलाई थप सशक्त बनाउन भारतबाट आएका अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत सक्रिय रूपमा लागिरहेको बताए। उनीहरूका साथै नेपालमै रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचारमा उत्तिकै सक्रिय रहेको निर्देशक पन्तको भनाइ छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ। फिल्मका गीतमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्मको छायांकन नवराज उप्रेतीले गरेका हुन्।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजरको निर्माण साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ। स्मरण रहोस्, फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ हाल चर्चामा छन्। यी गीतले ३० लाखभन्दा बढी भ्युज कमाइसकेका छन्।