काठमाडौँ :
निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिस्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तर र प्रदर्शनसम्बन्धी प्राविधिक जानकारी गराएका छन्।
फिल्म ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकले Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधियुक्त हलमा उत्कृष्ट सिनेम्याटिक अनुभव लिन सकून् भन्ने उद्देश्यले साउन्ड डिजाइन गरिएको निर्देशक राउतले उल्लेख गरेका छन्।
राउतका अनुसार फिल्मको साउन्ड मिक्सिङ तथा मास्टरिङ ५.५ फेडर युनिटमा गरिएको छ। ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्दै वास्तविक ध्वनि अनुभूति दिन यही स्तर कायम गरिएको उनको भनाइ छ।
निर्माण टोलीले फिल्म प्रदर्शनपूर्व नै ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि ५.५ भन्दा कम भोल्युम युनिटमा फिल्म प्रदर्शन नगर्न हलहरूलाई अनुरोध गरिएको छ।
पत्रमा निर्देशक राउतले उल्लेख गरेका छन्, “हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ। व्यावसायिक प्रदर्शन अघि एक पटक अनिवार्य टेस्ट रन गरिदिन आग्रह गर्दछौँ।”
उच्च प्राविधिक मापदण्डमा तयार पारिएको फिल्म ‘कुमारी’ले नेपाली फिल्मको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास निर्माण पक्षको छ। अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य अभिनय रहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। फिल्मलाई लिएर दर्शक र प्रदर्शक दुवैमा उत्साह देखिएको छ।