पोखरा/निश्चल गुरुङ
पोखरा महानगरपालिका–१ स्थित सामुदायिक वडा प्रहरी कार्यालय परिसरमा जेन–जेड आन्दोलन का क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुनःनिर्माण, मर्मत तथा सौन्दर्यकरणको कार्य सामाजिक सेवामूलक संस्थाहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ।
समुदायप्रतिको उत्तरदायित्व र सेवाभावलाई आत्मसात गर्दै ASEZ WAO क्लब ले उक्त क्षेत्रमा विशेष सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेको हो। क्लबका ऊर्जाशील सदस्यहरूले प्रहरी कार्यालय परिसरलाई आफ्नै घरसरह मानेर रंगरोगन (पेन्टिङ), सरसफाइ तथा आवश्यक मर्मत कार्य अत्यन्तै मनोयोगका साथ सम्पन्न गरेका छन्। साथै, कार्यालयको सेवा प्रवाहलाई थप सहज बनाउन सांकेतिक आर्थिक सहयोग समेत प्रदान गरिएको छ।
त्यसैगरी, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (World Mission Society Church of God) का स्वयंसेवकहरूले सोही कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्युतीय मर्मत तथा सुधार कार्य सम्पन्न गरी कार्यालयलाई सुरक्षित, उज्यालो र व्यवस्थित बनाएका छन्।

कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै सामुदायिक वडा प्रहरी कार्यालय, पोखरा–१ का प्रमुख ले भने,
“ASEZ WAO” क्लब तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका स्वयंसेवकहरूले यस कार्यालयलाई आफ्नै घर जस्तै ठानेर पुनःस्थापना गर्नु भएको छ। उहाँहरूको यो निस्वार्थ सेवाले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।”
स्थानीय बासिन्दाहरूले पनि युवाहरूको यस्तो सकारात्मक, अनुकरणीय र सेवामूलक पहलले समाजमा आशा, सद्भाव र सहकार्यको भावना फैलिएको बताउँदै संस्थाहरूको योगदानप्रति आभार व्यक्त गरेका छन्।
यस किसिमका सामाजिक सेवा कार्यक्रमहरूले समुदायको विकास मात्र नभई जिम्मेवार नागरिक निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
