काठमाडौं :
नेपाली संगीत र स्टेज प्रस्तुतिलाई फरक उचाइमा पुर्याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’ले नयाँ स्टेज प्रस्तुति ‘श्वेत र काल’ सार्वजनिक गरेका छन्।
यसअघि लाखे, झाँक्री, पुलुकिसी, कुमारीजस्ता सांस्कृतिक पात्र तथा जातीय बाजासहितको नृत्य–प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएका उनले यसपटक भने पूर्ण रूपमा फरक अवधारणा अघि सारेका छन्।
‘श्वेत र काल’ कुनै पनि धर्म वा संस्कृतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन। यो मानव जीवनसँग जोडिएका सकारात्मक र नकारात्मक ऊर्जाका दुई पाटालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने सार्वभौमिक अवधारणामा आधारित रहेको बताइएको छ। अन्तर्राष्ट्रिय दर्शकले समेत सहज रूपमा बुझ्न सक्ने गरी यसलाई तयार गरिएको जनाइएको छ।
प्रस्तुतिमा मुखुण्डो लगाएका नृत्यकारमार्फत सकारात्मक र नकारात्मक ऊर्जाको कथा नृत्यमार्फत व्यक्त गरिएको छ। राष्ट्रिय झण्डा, जातीय झ्याली बाजा र आकर्षक फायरवर्कको संयोजनले स्टेजलाई ऊर्जा, उत्साह र दृश्यात्मक भव्यताले भरिएको दाबी गरिएको छ।
नयाँ अवधारणाबारे बोल्दै बज्राचार्यले भने, “हामी सधैं नेपाली संस्कृति र परम्परालाई सम्मानपूर्वक नयाँ शैलीमा प्रस्तुत गर्दै आएका छौं। तर यसपटक हाम्रो उद्देश्य कुनै धर्म वा संस्कृतिसँग नजोडिकन जीवनचक्रका दुई अविभाज्य पाटा—सकारात्मक र नकारात्मक ऊर्जालाई प्रतीकात्मक रूपमा देखाउनु हो। यसमार्फत दर्शकलाई दृश्य र संगीत दुवै पक्षबाट नयाँ अनुभव दिन चाहन्छौं, जुन अन्तर्राष्ट्रिय मञ्चमा पनि सहज रूपमा बुझ्न सकियोस्।”
‘श्वेत र काल’ अब बज्राचार्यका आगामी सबै स्टेज कन्सर्टहरूको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिने जनाइएको छ।