सुचना, समाचार र मनोरन्जन

स्रष्टाको पहिचानका लागि दबाब: प्रत्येक प्रस्तुतीमा नाम भन्नैपर्ने माग

काठमाडौं :

पोखराबाट साङ्गीतिक क्षेत्रमा स्रष्टाको पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण आवाज उठेको छ। कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।

शनिबार पोखरा मा गीतकार प्रतिष्ठान, नेपाल द्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा उक्त मागमा जोड दिइएको हो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारी ले अवधारणापत्र प्रस्तुत गर्दै विभिन्न साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल गरी सो दस्तावेज तयार गरिएको जानकारी दिए।

सात बुँदामा प्रस्तुत अवधारणापत्रमा एउटा उत्कृष्ट साङ्गीतिक सिर्जनामा सबै पक्षको समान भूमिका हुने उल्लेख गर्दै रियालिटी सो, प्रतियोगिता वा अन्य साङ्गीतिक कार्यक्रममा गीत प्रस्तुत गर्दा सम्बन्धित सबै स्रष्टाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। नृत्य प्रस्तुति वा अन्य कार्यक्रम सञ्चालन गर्दा पनि उद्घोषक वा आयोजकले गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम घोषणा गर्नुपर्ने माग गरिएको छ।

अवधारणापत्रमा गीतको समीक्षा गर्दा गीतकारको भावना र मर्मलाई ध्यान दिन, समाजमा अपाच्य हुने शब्द प्रयोग नगर्न, रोयल्टी सम्बन्धित स्रष्टाको बैंक खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको संरक्षण गर्न तथा प्रविधिको सदुपयोगमार्फत स्रष्टाको अस्तित्व जोगाउन आग्रह गरिएको छ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का पूर्वकुलपति सरुभक्त ले सञ्चारमाध्यमहरूले स्रष्टाको नाम उच्चारण गर्ने विषयमा थप जिम्मेवार हुनुपर्ने बताए। उनले रोयल्टी व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण पनि गराए। वरिष्ठ लोकगायिका हरिदेवी कोइराला ले प्रतिलिपि अधिकारबारे सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिँदै आफ्ना गीत अरूको नाममा प्रयोग हुँदा पीडा हुने अनुभव साझा गरिन्।

विम्बकवि तथा गीतकार रमेश श्रेष्ठ ले स्रष्टाको पहिचानको लडाइँमा स्रष्टाले नै जित्नुपर्ने बताए भने नवराज बराल ले गीतकार, सङ्गीतकार र गायक/गायिकाबीचको सहकार्यबाट मात्र गुणस्तरीय सङ्गीत उत्पादन सम्भव हुने धारणा राखे।

त्यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठान का निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले एकअर्काको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए। गायक कर्णदासरामभक्त जोजिजू ले देश–विदेशका प्रस्तुति तथा कार्यक्रमहरूमा सम्बन्धित स्रष्टाको नाम उच्चारण गर्ने अभ्यास अनिवार्य गर्नुपर्ने बताए। गायक विनोद बानियाँ ले प्रविधिसँग सहकार्य गर्दै सबै पक्षको हक सुनिश्चित गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’ तथा गुरुङ चलचित्रका कलाकार ताराबहादुर गुरुङलगायतले पनि अवधारणापत्रका बुँदाहरू सान्दर्भिक रहेको बताए।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो। कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’ को स्वागत मन्तव्यसँगै सुरु भएको थियो भने सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए।

Leave A Reply

Your email address will not be published.