काठमाडौं :
गत शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘रोल नं १’ को सोमबार राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) आयोजना गरिएको छ। निर्माण टिमद्वारा आयोजित उक्त विशेष प्रदर्शनीमा उपस्थित नेपाली रजतपटका हस्ती, हास्य कलाकार र राजनीतिज्ञहरूबाट चलचित्रले सोचेभन्दा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ।
विशेष प्रदर्शनीमा सहभागीहरूले चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई मुक्तकण्ठले प्रशंसा गर्दै यो चलचित्र विद्यार्थीभन्दा पनि अभिभावकहरूले हेर्नुपर्ने सिनेमा भएको धारणा व्यक्त गरे। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्र हेर्न निर्देशक तुल्सी घिमिरे, कलाकारहरू जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अभिनेत्रीहरू अञ्जना बराइली, निता ढुङ्गाना, सञ्चिता लुइटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिभा तुलाधर, सरिता गिरी, हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी, हाँस्यकलाकार भरतमणी पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रिय सभा सांसद सुनिल बहादुर थापा, र एन-प्याब्सनका महासचिव आरबी कटुवाल लगायतको बाक्लो उपस्थिति रहेको थियो।
चलचित्र हेरेर निस्किएका कलाकर्मीहरूले यसको संवाद, लेखन र सन्देशको प्रशंसा गर्दै किताबी ज्ञानभन्दा ‘सीप’ र रुचि ठूलो कुरा हो भन्ने सन्देश चलचित्रले प्रभावकारी ढङ्गले दिएको बताए। कलाकार जितु नेपालले कक्षाकोठाको नम्बरले मात्र जीवनको नम्बर निर्धारण नगर्ने भन्दै शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई चलचित्रले निकै सान्दर्भिक रूपमा उठाएको उल्लेख गरे। त्यस्तै, कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले यसलाई दुर्गम क्षेत्रको शिक्षा र बुबाको संघर्ष बोकेको ‘पढ्नुपर्ने किताब’ को संज्ञा दिए भने कलाकार लुनिभा तुलाधर र अभिनेत्री नीता ढुङ्गानाले बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरूमाथि थोपरिने पढाइको दबाब कम गर्न हरेक अभिभावकले यो सिनेमा हेर्नैपर्नेमा जोड दिए। अभिनेत्री सञ्चिता लुइँटेलले चलचित्रको लेखनलाई ‘मर्मस्पर्शी’ र अभिनेता हरिहर अधिकारीले ‘ब्युटिफुल’ भन्दै यसमा बाबु-छोराको सम्बन्ध र संघर्षको कथा जीवन्त रूपमा उतारिएको प्रतिक्रिया दिए।
विशेष प्रदर्शनीमा सहभागीहरूले चलचित्रका मुख्य कलाकार मुकुन्द पोखरेल र रेनु नाथ योगीको अभिनयलाई ‘जीवन्त’ भनेका छन् भने बाल कलाकारको कामको पनि चौतर्फी प्रशंसा भएको छ। जोन योञ्जनको निर्देशन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल–कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता तथा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माता रहेको यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठले छायाङ्कन गरेका हुन्। बालबालिकाको रुचि पहिचान गरेर अगाडि बढ्न र शैद्धान्तिक ज्ञानभन्दा सीपले जीवन चलाउने सन्देश दिने यो चलचित्र हाल देशभरका विभिन्न हलहरूमा व्यावसायिक रूपमा प्रदर्शन भइरहेको छ।