सुचना, समाचार र मनोरन्जन

अब सीमाबाट ५०० रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी १०० रुपैयाँभन्दा धेरैको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । अर्थ मन्त्रालयले साविकमा १०० रुपैयाँसम्म रहेको सीमा बढाएर ५०० पुर्‍याएको हो।

राजपत्रमा प्रकाशित सूचनामा ५०० रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ ।

सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बसिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए ।

स्थलमार्गबाट सीमा ओहरदोहर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाइका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनावसमेत देखिएको थियो ।

अघिल्लो वर्ष नै १०० रुपैयाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहारतः भन्सार नलाग्ने अभ्यास थियो । नयाँ सरकारले कार्यन्वयनमा कडाइ गरेको हो ।

तराई मधेशका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारि जाने गरेका छन् । यस्तै कतिपयले सीमा पारि वैवाहिक सम्बन्धसमेत रहेकाले माइतीबाट ल्याएको उपहारमा पनि भन्सार तिर्नुपरेको गुनासो गरेका थिए ।

Leave A Reply

Your email address will not be published.