भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गएको प्रतिनिधिमण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योग क्षेत्रमा गम्भीर असर परेको भन्दै तत्काल समाधानको माग गरेको थियो ।
उद्योगीहरूले वार्षिक झण्डै १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौँ श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन् ।
परराष्ट्रमन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढिसकेको र छिट्टै समाधान निस्किने अपेक्षा गरिएको जानकारी दिनुभयो । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् ।
असार १ गतेदेखि इलामका ५६ उद्योग बन्द भएकोमा हिजोदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र झण्डै दुई दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन् । झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो । व्यवसायीहरूको तथ्याङ्क अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ ।
यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित झण्डै ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर सङ्कटमा परेको छ ।