सुचना, समाचार र मनोरन्जन

ललितपुरको ग्वार्कोमा अत्याधुनिक प्रविधिसहित ‘गुण सिनेमा’ पुनः सञ्चालनमा

काठमाडौँ :

ललितपुरको ग्वार्कोस्थित ऐतिहासिक ‘गुण सिनेमा’ साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको यो हल अत्याधुनिक प्रविधिसहित ८ वटा हलका साथ सञ्चालनमा आएको हो। वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमा २७ वर्षसम्म निरन्तर सफलताका साथ सञ्चालन भएको थियो। नयाँ भवन निर्माणका लागि वि.सं. २०७९ सालमा पूर्ण रूपमा बन्द गरिएको यो हल शुक्रबारदेखि नयाँ स्वरूपमा दर्शकमाझ आएको हो।

नयाँ भवन निर्माणका लागि हल बन्द गर्नुपर्दा धेरै दर्शकलाई सिनेमा हेर्न असुविधा भएको कुरालाई मध्यनजर गर्दै, बिहीबार साँझ आयोजित एक कार्यक्रममा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले अब पहिलेभन्दा थप एक हल गरी कुल ८ वटा हलका साथ सेवा सुरु गरिएको जानकारी दिए। अब दर्शकले आफ्नो रुचि अनुसारका फिल्म रोजीरोजी हेर्न सक्ने उनको भनाइ छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन— क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने यस सिनेमा हलमा ४१ देखि २६० सिट क्षमताका हलहरू रहेका छन्। अध्यक्ष शाक्यका अनुसार हलहरूमा जिडिसी सर्भर, पुल्ज र जेबिएल स्पिकर, डिटिएस एक्स प्रोसेसर, एआइबि ३००० इमर्सिभ साउण्ड सिस्टम, बेल्जियममा निर्मित बार्को टुके लेजर प्रोजेक्टर र गालालाइट सिल्भर स्क्रिन जडान गरिएका छन्। दर्शकको सुविधाका लागि हरेक हलमा प्रिमियम सोफा सिट, पूर्ण वातानुकूलित (एअर कन्डिसन) व्यवस्था र आकर्षक एवं विलासी लबी निर्माण गरिएको छ। हलभित्रै हिमालयन जाभा कफीसहित दर्शकको रोजाइ अनुसारका विभिन्न खाना र स्न्याक्सको समेत व्यवस्था गरिएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको विकास, विस्तार र दर्शकको अभिरुचि बढाउन गुण सिनेमाले पुर्‍याएको योगदानको स्मरण गर्दै एकै छानामुनि अत्याधुनिक प्रविधियुक्त ८ वटा हल सञ्चालनमा आउनु निकै गौरवको कुरा भएको बताए। त्यस्तै, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले गुण सिनेमाको नयाँ स्वरूपको तारिफ गर्दै यसले चलचित्रको बजार विस्तारमा ठूलो सहयोग पुग्ने धारणा राखे। क्युएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुण सिनेमा सधैँ गुणस्तरीयताको पक्षमा रहेको बताए।

नेपाली तथा विदेशी सबै प्रकारका चलचित्र प्रदर्शन हुने गुण सिनेमामा यसअघि ७ वटा हल सञ्चालनमा थिए। विगतमा काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीदेखिका दर्शक फिल्म हेर्न यहाँ ओइरिने गर्दथे, जसका कारण नेपाली चलचित्रको व्यापारमा गुण सिनेमाको ठूलो योगदान रहने गर्थ्यो। अब फेरि त्यस्तै व्यावसायिक उत्साहको नयाँ युग सुरु भएको चलचित्र निर्माता छविराज ओझाले बताए। वि.सं. २०७९ वैशाखदेखि दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गरिरहेको गुण सिनेमा प्रालिले ग्वार्कोमा शुक्रबारदेखि नेपाली फिल्म ‘गौँथली’, हिन्दी फिल्म ‘धमाल ४’ र अंग्रेजी फिल्म ‘द ओडिसी’ लगायतका चलचित्रहरू प्रदर्शन सुरु गरेको छ।

Leave A Reply

Your email address will not be published.