काठमाडौँ,
सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३÷०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका थिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनको भनाइ छ ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनका आधारमा पारिश्रमिक दिने पद्धतिको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताएका थिए ।
नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशतको वृद्धि भएको छ ।
यस तलब वृद्धिसँगै निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम भएको छ । अर्थात् तल्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी हुनेछ ।