पोखरा,
नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले बिहीबार एक समारोहबीच आउटलेटको उद्घाटन गरेका हुन्।
नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि तीन विश्वप्रसिद्ध विद्युतीय सवारी ब्राण्डका अत्याधुनिक मोडेल अवलोकन गर्न, व्यक्तिगत परामर्श लिन, टेस्ट ड्राइभ गर्न तथा बिक्रीपछिका सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो विस्तारले काठमाडौं उपत्यकाबाहिर विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने रणनीतिलाई थप मजबुत बनाएको छ। साथै, नेपालमा स्मार्ट, दिगो र प्रभावकारी विद्युतीय मोबिलिटीको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले उपत्यकाबाहिर विद्युतीय सवारीसाधनको बजार विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गर्दै कम्पनीलाई धन्यवाद व्यक्त गरे।

उद्घाटन समारोहका प्रमुख अतिथि मन्त्री भीम कार्कीले गुणस्तरीय सेवा, ग्राहकमैत्री अवधारणा र विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सीजी मोटर्सले पुर्याएको योगदान सराहनीय रहेको बताए। उनले देशभर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गरे।
कार्यक्रमका सभापति तथा सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले कम्पनीले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत ग्राहकलाई सहज, सुरक्षित र भरपर्दो चार्जिङ सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले यही पूर्वाधारका कारण सीजी मोटर्स नेपालका विश्वसनीय विद्युतीय सवारी प्रदायकमध्ये अग्रणी कम्पनीका रूपमा स्थापित भएको दाबी गरे।

करिब १५० जनाको सहभागिता रहेको उद्घाटन समारोहमा नयाँ ग्राहकलाई विद्युतीय सवारीसाधनको साँचो हस्तान्तरण समेत गरिएको थियो। कम्पनीले पोखराबाट उपत्यकाबाहिर शाखा विस्तार अभियानलाई थप तीव्र बनाउने जनाएको छ।