सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ हुँदै, चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा

पोखरा,

प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ। आगामी असोज ३ गते (१९ सेप्टेम्बर २०२६), शनिबार आयोजना हुने दौडमा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (NFIA) को आयोजनामा तथा यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को मुख्य प्रायोजनमा हुने कार्यक्रमलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ। खेलकुदमार्फत स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने जनचेतनामूलक अभियानका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

नेपालमा पोषण तथा खाद्य सुरक्षा अझै गम्भीर चुनौतीका रूपमा रहेको आयोजकको भनाइ छ। नेपालमा ४६ लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको अवस्थामा रहेको अनुमान छ भने कुपोषण, पुड्कोपन तथा रक्तअल्पता महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसत करिब ४६ ग्राम रहेको र यो विश्वव्यापी औसत करिब ७७ ग्रामभन्दा निकै कम रहेको आयोजकले जनाएको छ।

प्रोटिनको आवश्यक मात्रा, गुणस्तर र उपलब्धताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१९ देखि ‘राइट टु प्रोटिन रन’ अभियान सञ्चालन हुँदै आएको छ। पोषणसम्बन्धी छलफललाई सभा तथा सम्मेलनमा मात्र सीमित नराखी समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानले दौड, खेलकुद र सार्वजनिक सहभागितामार्फत स्वस्थ जीवनशैलीको सन्देश दिँदै आएको आयोजकको भनाइ छ।

शारीरिक वृद्धि तथा विकास, मांसपेशीको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता, शारीरिक पुनःस्थापना, उत्पादकत्व तथा समग्र स्वास्थ्यका लागि पर्याप्त प्रोटिन र सन्तुलित पोषण आवश्यक हुने भएकाले अभियानमार्फत यसबारे जनचेतना फैलाइनेछ।

आठ विधामा प्रतिस्पर्धा

‘राइट टु प्रोटिन रन–२०२६’ अन्तर्गत आठ विधामा प्रतिस्पर्धा हुनेछ। हाफ म्याराथन पुरुष तथा महिला २१ किलोमिटर, खुला दौड पुरुष १० किलोमिटर, खुला दौड महिला ५ किलोमिटर, कक्षा १२ सम्मका पुरुष ५ किलोमिटर, कक्षा १२ सम्मका महिला ३ किलोमिटर तथा ह्विलचेयर पुरुष र महिला ३ किलोमिटर विधामा प्रतिस्पर्धा गराइनेछ।

प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि रु. १६ लाख रहेको छ। नियमानुसार २५ प्रतिशत कर कट्टीपछि विजेता धावकहरूले कुल रु. १२ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

पोखराका रमणीय क्षेत्रमा दौड

दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई सोही स्थानमा पुगेर सम्पन्न हुनेछ। निर्धारित मार्ग बसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौंदी–पामे हुँदै लौरुकसम्म पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्क फर्किनेछ।

दौडलाई व्यावसायिक तथा सुरक्षित रूपमा सञ्चालन गर्न NFIA ले नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गर्नेछ। दौड मार्गका विभिन्न स्थानमा खानेपानी, हाइड्रेसन स्टेसन, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। साथै एम्बुलेन्स तथा आकस्मिक स्वास्थ्य सेवाको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

प्रोटिनका स्रोतबारे जनचेतना

कार्यक्रमको सन् २०२६ संस्करणले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सहज रूपमा उपलब्ध गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्दै नयाँ तथा उदीयमान धावकलाई अवसर प्रदान गर्ने उद्देश्यसमेत रहेको छ।

कार्यक्रमले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। उत्कृष्ट खेलाडी उत्पादन र स्थानीय तथा राष्ट्रियस्तरका धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

विभिन्न क्षेत्रको सहकार्य

कार्यक्रमको मुख्य आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (NFIA), प्रमुख प्रायोजक यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) र प्राविधिक सहयोगी नेपाल एथलेटिक्स संघ रहनेछन्।

कार्यक्रमलाई प्रभावकारी बनाउन फिड, भेटेरिनरी, पोल्ट्री, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, स्वास्थ्य र सामुदायिक क्षेत्रका विभिन्न संस्थाको समेत सहभागिता रहने कार्यक्रम संयोजक समेजराज भण्डारीले जानकारी दिए।

उनका अनुसार ‘राइट टु प्रोटिन रन’ केवल दौड प्रतियोगिता नभई पोषण, शारीरिक तन्दुरुस्ती, स्वस्थ जीवनशैली र समग्र स्वास्थ्यबारे जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको हो।

Leave A Reply

Your email address will not be published.