सुचना, समाचार र मनोरन्जन

पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आगामी भाद्र २० र २१ गते हुन गइरहेको ३६औँ महाधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ। यसैबीच, कार्यसमिति सदस्य पदका लागि स्थापित व्यवसायी एवं सामाजिक अभियन्ता दिलिपकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

“व्यवसायिक ऐक्यवद्धता हाम्रो प्रतिवद्धता” भन्ने मुख्य संकल्पका साथ चुनावी मैदानमा उत्रिएका श्रेष्ठले व्यवसायीहरूको हकहित र साझा समस्या समाधानका लागि आफ्नो दुई दशक लामो अनुभवलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायिक ऐक्यवद्धता हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका श्रेष्ठले व्यवसायीहरूको हकहित र अधिकारका लागि आफूलाई समर्पित गर्ने संकल्प गरेका छन्। लामो व्यावसायिक अनुभव र विभिन्न संघसंस्थाको सफल नेतृत्व गरिसकेका श्रेष्ठलाई यसपटकको निर्वाचनमा एक बलियो र अनुभवी उम्मेदवारका रूपमा हेरिएको छ।

संस्थागत नेतृत्वमा लामो अनुभव सँगालेका श्रेष्ठ हाल अधिकृत बिक्रेता संघ पोखराको वरिष्ठ उपाध्यक्ष तथा नेपाल वितरक महासंघको केन्द्रीय कार्यकारिणी सदस्य हुन् । पोखरा उद्योग वाणिज्य संघकै पूर्व कार्यसमिति सदस्यका रूपमा सफल कार्यकाल व्यतित गरिसकेका श्रेष्ठले लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीको पूर्व अध्यक्ष र लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईको डिष्ट्रिक्ट काउन्सिलर जस्ता गरिमामय पदमा रहेर सामाजिक सेवामा समेत विशिष्ट पहिचान बनाएका छन्। उनी पोखरा प्लास्टिक व्यवसायी समिति कास्कीमा समेत सक्रिय छन्।

व्यावसायिक क्षेत्रमा श्रेष्ठको संलग्नता निकै गहिरो र विस्तारित छ। उनी अदिति ट्रेड सेन्टर, फोर ए डी ट्रेडिङ हाउस र फोर डी ट्रेडिङ हाउसका सञ्चालक हुन्। व्यापारिक जगतको जगदेखि नै संघर्ष गरेर आएका कारण उनले व्यवसायीले भोग्नुपर्ने दैनिक समस्या, बजार व्यवस्थापन र राज्यका नीतिगत जटिलताहरूलाई नजिकबाट अनुभूत गरेका छन्। यही भोगाइ र अनुभवलाई उनले आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन् ।

श्रेष्ठले यसपटकको निर्वाचनमा व्यवसायीको आत्मसम्मान र सुरक्षालाई मुख्य मुद्दा बनाउँदै सानादेखि ठूलासम्मका सम्पूर्ण व्यवसायीलाई संघको साझा र सम्मानित सदस्य बनाउने, समस्या पर्दा संघ आफैँ व्यवसायीको सटरसम्म पुग्ने संयन्त्र निर्माण गर्ने र बजारका अनावश्यक झमेला एवं नीतिगत अन्यौलका विरुद्ध चट्टान झैँ उभिने उनको मुख्य कार्यसूची छ। “नेतृत्व भनेको कुर्सीमा बस्नु मात्र होइन, भुईँमा रहेका व्यवसायीहरूको बलियो आवाज बन्नु हो,” भन्ने मान्यताका साथ उनले मतदातामाझ आफ्नो दृष्टिकोण राखिरहेका छन्।

मतदातालाई अपिल गर्दै आगामी निर्वाचनमा क्रम संख्या ४ मा उम्मेदवारी दिएका श्रेष्ठले सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन अपिल गरेका छन्। तपाईंले दिनुहुने एक मतको सम्मान म आफ्नो पसिना बगाएर गर्नेछु। संघलाई सबैको साझा र भरोसायोग्य घर बनाउन मलाई तपाईंहरूको साथ, मन र विश्वासको खाँचो छ,” श्रेष्ठले भने। २०११ सालदेखि स्थापित संघको गरिमालाई उच्च राख्दै नयाँ सोच र ऊर्जाका साथ काम गर्न आफू तयार रहेको श्रेष्ठको दाबी छ।

Leave A Reply

Your email address will not be published.