पोखरा :
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि जोडिएको छ।
हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने प्रतित्रद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना गरेका छन्।हिमश्री पोखरामा आयोजना हुने कुनैपनि खेल प्रतियोगिताको सहयोगी रहने बताउँदै निर्देशक केसीले पहिलोपटक हुन लागेको प्रदेशस्तरीय मिडिया कपलाई पनि साथ सहयोग रहने जनाएका छन्।
कल्पका अध्यक्ष सुरज श्रेष्ठले देशकै प्रतिष्ठित फुड कम्पनीको सहयोगप्रति आभार रहेको भन्दै निर्देशक केसीलाई धन्यवाद व्यक्त गरेका छन्। स्मरणीय छ, हिमश्री फुड्स प्रालि पोखरामा आयोजना हुने राष्ट्रियस्तरको आहा रारा गोल्डकपको मुख्य प्रायोजक हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न संघ–संस्था र सरोकारवाला निकायसँगको सहकार्यमा अघि बढाइएको छ।
प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। जसअनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन्। प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।् प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।