पोखरा,
अन्तर्राष्ट्रिय यात्रा प्रकाशन संस्था लोन्ली प्लानेटले सन् २०२७ मा एसियामा घुम्न सिफारिस गरेका उत्कृष्ट २५ गन्तव्यको सूचीमा नेपालको पोखरा ११औँ स्थानमा परेको छ ।
नोभेम्बर १५, २०२६ मा प्रकाशित ‘२५ बेस्ट प्लेसेस टु भिजिट इन एसिया इन २०२७’ शीर्षकको सूचीमा पोखरा एसियाका चर्चित पर्यटकीय गन्तव्यसँगै समेटिएको हो ।
लोन्ली प्लानेटको सूचीमा जापानको ओकिनावा पहिलो, चीनको चेङ्दु दोस्रो र भारतको गुजरात तेस्रो स्थानमा छन् । त्यसैगरी भियतनामको दानाङ चौथो र लाओसको लुआङ प्राबाङ पाँचौँ स्थानमा रहेका छन् ।
सूचीमा भारतको जयपुर १०औँ, नेपालको पोखरा ११औँ र श्रीलंकाको एल्ला १२औँ स्थानमा छन् ।
लोन्ली प्लानेटले पोखरालाई व्यस्त सहरी जीवनबाट टाढा रहेर आराम र पुनर्ताजगी लिन सकिने गन्तव्यका रूपमा चित्रण गरेको छ । फेवातालको किनारमा अवस्थित पोखराबाट देखिने हिमशृङ्खला, प्राकृतिक सौन्दर्य र शान्त वातावरणलाई यसको प्रमुख आकर्षणका रूपमा उल्लेख गरिएको छ ।
विशेषगरी अन्नपूर्ण क्षेत्रको पदयात्रा पूरा गरेर फर्किने पर्यटकका लागि पोखरा विश्राम गर्ने, अनुभव साटासाट गर्ने र नयाँ ऊर्जा प्राप्त गर्ने उपयुक्त गन्तव्य रहेको प्रकाशनले जनाएको छ ।

तालमा डुङ्गा विहार, सराङकोटबाट प्याराग्लाइडिङ, जलयात्रा, मन्दिर, बजार, क्याफे तथा पारिवारिक होमस्टेले पोखराको पर्यटन अनुभवलाई थप विविध बनाउने लोन्ली प्लानेटको उल्लेख छ ।
नेपाल पर्यटन बोर्डले पनि पोखरालाई हिमाल, ताल र हरियालीको अनुपम संयोजन भएको गन्तव्यका रूपमा प्रस्तुत गर्दै आएको छ । अन्नपूर्ण हिमशृङ्खलाको पृष्ठभूमिमा रहेका फेवा, रूपा र बेगनास ताल, विश्वशान्ति स्तूप, तालबाराही मन्दिर तथा साहसिक पर्यटनका गतिविधि पोखराका प्रमुख आकर्षण हुन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले लोन्ली प्लानेटको सूचीमा पोखरा समेटिनु अन्तर्राष्ट्रिय पर्यटन पहिचान विस्तारका लागि सकारात्मक अवसर भएको बताए ।
अन्तर्राष्ट्रिय प्रकाशनमा स्थान पाएको यस अवसरलाई प्रतिफलमुखी बनाउन वास्तविक पर्यटक आगमन, पर्यटकको बसाइ अवधि र स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान वृद्धिसँग जोड्नुपर्ने उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरालाई अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने र फर्किने पर्यटकको विश्रामस्थलमा मात्र सीमित नराख्नुपर्ने बताए ।
पोखरालाई संस्कृति, प्रकृति, साहसिक गतिविधि, स्थानीय उत्पादन र समुदायमा आधारित पर्यटनसँग जोड्न सके अन्तर्राष्ट्रिय पहिचानलाई दिगो आर्थिक लाभमा रूपान्तरण गर्न सकिने उनले बताए ।
लोन्ली प्लानेटको सूचीमा पोखरा समेटिनुले नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसर सिर्जना गरेको छ । अब यस अवसरलाई पर्यटकको आगमन वृद्धि, लामो बसाइ, स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटनबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभसँग जोड्नु आवश्यक देखिन्छ ।