सुचना, समाचार र मनोरन्जन

सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने ३ जना पक्राउ

पोखरा,

कास्कीको रूपा गाउँपालिका वडा नम्बर ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार एक महिलाको पर्स चोरी गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

 

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ राङखोला बस्ने २९ वर्षकी अनिता श्रेष्ठको बसभित्रै तीन जना व्यक्तिले पर्स चोरी गरेका थिए । पर्स चोरी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो ।

 

प्रहरीले उनीहरूको साथबाट पर्सभित्र रहेको सुन जस्तो देखिने पहेँलो रङको १ थान हार र चाँदीको बेरुवा औंठी २ थान बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १५ बस्ने ४२ वर्षका गुरुप्रसाद बजगाईं, रौतहटकै चन्द्रनिगाहापुर नगरपालिका वडा नम्बर ८ घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवन बस्ने ३४ वर्षका रविन खड्का र झापाको कनकाई नगरपालिका वडा नम्बर ८ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ खहरे बस्ने ४५ वर्षका सूर्य भन्ने टेकबहादुर भुजेल छन् ।

 

पक्राउ परेका तीनै जनालाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन छ को म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.