सुचना, समाचार र मनोरन्जन

राजस्व कार्यालय पोखरामा करदाता सहायता कक्ष स्थापना

पोखरा,

आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) अन्तर्गत सहायता कक्ष स्थापना गरिएको हाे ।

 

कक्षको शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ लगायत सहभागी थिए ।

 

जिल्ला अधिकारी गुरुङले करदाता सहायता कक्षले नागरिकलाई सहज तरिकाले कर तिर्ने वातावरण सिर्जना गर्ने बताए । जेनजी आन्दोलनको क्रममा आन्तरिक राजश्ज कार्यालयसँगै सो कक्ष पनि पूर्णरुपमा ध्वस्त भएपछि केही दिन सो कक्षबाट सेवा रोकिएको थियो ।

 

संघका अध्यक्ष गोकर्ण कार्कीले कर सहाययता कक्षमा आगजनी भएपछि नागरिकले दुःख पाएको स्मरण गरे । कक्षमा ५ वटा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित संघले एकजना कर्मचारीको व्यवस्था गरेको उनले जानकारी दिए । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

 

नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडरले कर संकलन देश निर्माणको लागि महत्वपूर्ण रहेको र कर तिर्नु नागरिकको दायित्व भएको बताए । कर प्रशासन नागरिक मैत्री हुनुपर्ने बताउँदै उनले कर सहायता कक्ष निर्माणलाई दातृ संस्था,सरकार,निजी क्षेत्र र नागरिक समाजको सहकार्यको रुपमा अथ्र्याए ।

 

जीआइजेड प्रतिनिधि मेन्दी राजा रिज्वीले कर सहायता कक्षसँगै जिआइजेडले कर शिक्षा कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको बताए । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले नागरिकको सुविधाजनक रुपमा कर तिर्न पाउने अधिकारका लागि कक्ष स्थापना भएको बताए । उनले अहिले विभिन्न क्षेत्रमा कर छुटको घोषणा भएको बताउँदै त्यसको फाइदा लिन आग्रह पनि गरे ।

 

संघकी महासचिव शोभा गौतमका अनुसार कर सहायता कक्षमा बसेर करदाताले आफूलाई चाहिने फाइलहरु अनलाइन खोज्न,चाहिएको कागज प्रिन्ट गर्न वा आफ्नो कर विवरण भर्न सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.