सुचना, समाचार र मनोरन्जन

पाँचौँ स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न, धिरेन शाक्य ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ सम्मानित

काठमाडौँ :

पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा वरिष्ठ अभिनेता धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको थियो। उनको सम्मानमा उनी अभिनित चलचित्रका चर्चित गीतहरूमा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा आयोजक यसराज गराच, अभिनेत्री ऋचा थापा लगायतले विशेष नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा शाक्यको लामो योगदानको स्मरण गर्दै नेपाली दृश्य–मनोरञ्जन उद्योगमा उनको प्रभाव र लोकप्रियताको चर्चा गरिएको थियो।

चलचित्र विकास बोर्ड, काठमाडौँमा आयोजित उक्त समारोहको आयोजना स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्टले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता–निर्देशक दिनेश डीसीलाई ‘इन्टरटेन्मेन्ट किङ’ सम्मान प्रदान गरियो। उनले नेपाली चलचित्र र टेलिभिजन क्षेत्रमा गरेको दीर्घकालीन योगदानका लागि उक्त सम्मान प्राप्त गरेका हुन्।

चर्चित गायक आनन्द कार्कीलाई ‘मेलोडी सम्मान’ प्रदान गरिएको थियो भने अग्रज अभिनेत्री तथा निर्माता–निर्देशक रोशनी केसीलाई ‘चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिएको थियो। समारोहमा अभिनेता गजित बिष्टलगायत अन्य व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गरिएको आयोजकले जनाएको छ। पत्रकारिता र फेसन कोरियोग्राफी विधामा पनि विशेष अवार्ड प्रदान गरिएको थियो। मल्टिमिडिया जर्नालिस्ट अवार्ड सरिता भारतीले प्राप्त गरिन् भने फेशन कोरियोग्राफर अफ द इयर अवार्ड अश्विनी कान्त झालाई प्रदान गरियो।

संगीत सिर्जनातर्फ उत्कृष्ट गीतकार (डायस्पोरा) अवार्ड ईशन ढकालले ‘पहिलो प्रेम’का लागि प्राप्त गरे। उत्कृष्ट गीतकार (आधुनिक) अवार्ड देवेन्द्र आचार्यलाई ‘सजाय काफी हुँदैन’ गीतका लागि प्रदान गरियो। लिरिकल म्युजिक भिडियो अवार्ड पारस मणि बराललाई ‘के गर्ने के गर्ने’का लागि, अन्तर्राष्ट्रिय संगीत संयोजक अवार्ड निशाद चन्दलाई, उत्कृष्ट आधुनिक संगीतकार अवार्ड सुशील विश्वकर्मालाई ‘भुतुक्कै भएनी’बाट तथा उत्कृष्ट संगीत निर्देशक अवार्ड दीपक तिरुवालाई ‘तिम्रै लागि’बाट प्रदान गरियो।

उत्कृष्ट गायक (डायस्पोरा) अवार्ड निता आचार्यले प्राप्त गरिन्। गायक (लोक दोहोरी) अवार्ड प्रमोद शर्मा र शर्मिला बरदेवाले ‘खै त मायाले कुरा बुझेको’बाट पाए भने आधुनिक गीत गायिका अवार्ड माधवी अर्यालले ‘काफल गेडी’बाट र आधुनिक गायक अवार्ड प्रचण्ड बाबु राईले ‘यो मायाले’बाट हासिल गरे। लोकप तर्फ उत्कृष्ट गायक अवार्ड सुमन रेग्मीले ‘चिसो चिसो हावामा’बाट तथा गायिका अवार्ड मिलन अमात्यले ‘सुनसान रातमा–२’बाट प्राप्त गरिन्।

म्युजिक भिडियोतर्फ उत्कृष्ट मोडल (पर्व गीत) अवार्ड योगेश भण्डारीले ‘दशैं आयो’बाट, उत्कृष्ट मोडल (लोक दोहोरी) अवार्ड लोसिना लमिछानेले ‘आकाश का’बाट, उत्कृष्ट आधुनिक महिला मोडल अवार्ड प्रिया रानी लामाले ‘विश्वासको घर’बाट र आधुनिक पुरुष मोडल अवार्ड सुधीर श्रेष्ठले ‘काश्मिरे गम्छा’बाट पाए। पप तर्फ उत्कृष्ट महिला मोडल अवार्ड प्रिज्मा खतिवडालाई ‘बेरंग…’बाट प्रदान गरियो।

म्युजिक भिडियो नृत्य निर्देशन अवार्ड दिलिप ओखेडाले ‘पैसा चाहिन्छ…’बाट प्राप्त गरे। भिडियो निर्देशन जुरी अवार्ड सुब्रत आचार्यलाई ‘गाजलु ती ठूला ठूला आँखा…’बाट र उत्कृष्ट भिडियो निर्देशक अवार्ड सुनिल बीकेलाई ‘पुतली…’बाट प्रदान गरियो।

नयाँ प्रतिभा प्रोत्साहन अन्तर्गत पप डेब्यु अवार्ड (पुरुष मोडल) सुरेन्द्र दियालीलाई ‘सम्हालेर राखेको छु…’बाट र आधुनिक डेब्यु अवार्ड अनिमेष गुरुङलाई ‘ओ भावना…’बाट प्रदान गरियो। उत्कृष्ट मोडल डेब्यु (महिला) अवार्ड आकृति बस्नेतलाई, डेब्यु ज्यूरी (पुरुष) अवार्ड मनीष गौतमलाई तथा डेब्यु महिला अवार्ड अन्विशा खड्गीलाई प्रदान गरियो। उत्कृष्ट प्रोडक्सन म्यानेजर अवार्ड निर्मल न्यौपानेले प्राप्त गरे।

उत्कृष्ट छायाँकार (डायस्पोरा) अवार्ड राजीव आचार्यले ‘पहिलो प्रेम’बाट पाए। उत्कृष्ट सम्पादक अवार्ड राजु जंग बस्नेतले ‘सुनसान रातमा–२’का लागि प्राप्त गरे भने उत्कृष्ट छायाँकार अवार्ड दिनेश पराजुलीले ‘लाहुरेले लैना केरे’बाट पाए। उत्कृष्ट बाल कलाकार (पुरुष) अवार्ड रिदम जटाललाई, बाल कलाकार (महिला) अवार्ड परिना भण्डारीलाई तथा आशावादी बाल कलाकार अवार्ड आहाना श्रेष्ठलाई प्रदान गरियो।

कार्यक्रम अभिनेता तथा आयोजक यसराज गराच, कलाकार गोपाल ढकाल ‘छन्दे’ र सञ्चारकर्मी बिना श्रेष्ठले सञ्चालन गरेका थिए। कलाकारहरूको लाइभ प्रस्तुति, नृत्य तथा भिडियो प्रदर्शनले समारोहलाई मनोरञ्जनात्मक र स्मरणीय बनाएको आयोजकको दाबी छ।

Leave A Reply

Your email address will not be published.