पोखरा,
भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्झनामा पोखरामा हार्दिक श्रद्धाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। भदौ १९ गते आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मार्सानी, वडा सदस्य नन्द राम गिरी, ब्रह्मकुमारी टोली, वडा नं. ९ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशी, सञ्चारकर्मी, फेवा टेलिभिजनका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन रोशन मानन्धरले गरेका थिए।
दीप प्रज्वलनसँगै बाढीपीडितको पुनर्निर्माणका लागि महत्वपूर्ण सहयोगको प्रतिबद्धता समेत व्यक्त गरिएको छ। जलारी युवा समूह कास्की र नयाँ बजार युवा क्लबको संयुक्त आयोजनामा हुन गइरहेको ‘नयाँ बजार म्युजिक फेस्ट २०८३’ बाट प्राप्त हुने खुद मुनाफा भोटेकोशी बाढीपीडित क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरिएको हो।
उक्त सामाजिक पहललाई प्रोत्साहन गर्दै पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मार्सानीले म्युजिक फेस्टलाई वडा कार्यालय तथा व्यक्तिगत तर्फबाट समेत पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजकहरूको यस कदमले विपद्को समयमा ऐक्यबद्धता र सहयोगको सकारात्मक सन्देश दिएको छ।