सुचना, समाचार र मनोरन्जन

न्युरोसर्जन रोकाको नेतृत्वमा जीएमसीमा १३ घण्टा लामो जटिल मस्तिष्क शल्यक्रिया सफल

पोखरा,

 वरिष्ठ न्युरोसर्जन डा.यमबहादुर रोकाको नेतृत्वमा ६–७ सदस्यीय विशेषज्ञ टोलीले करिब १३ घण्टा लामो जटिल मस्तिष्क शल्यक्रिया सफल गराएर बिरामीको ज्यान बचाएको छ ।  शल्यक्रिया गरेका बिरामी म्याग्दीका ४३ वर्षीय पदमबहादुर पुन हुन ।  

म्याग्दीका पुन विगत केही महिनादेखि कडा टाउको दुखाइ, आँखा सुन्निने, आँखा झ्याप्प बन्द हुने तथा हिँडडुल गर्दा हातखुट्टामा कमजोरी महसुस हुने समस्याबाट पीडित थिए । उपचारका लागि उनी पोखरास्थित हिमालय आँखा अस्पताल पुगेका थिए । आँखाको परीक्षण गर्दा दुवै आँखामा सुजन अर्थात् Papilledema देखिएको थियो । त्यसपछि त्यहाँका चिकित्सकले Magnetic Resonance Imaging (MRI) गर्न सुझाव दिएका थिए।

राम्रो अस्पताल र अनुभवी न्युरोसर्जनको खोजी गर्दै जाँदा प्रो.वरिष्ठ न्यूरोसर्जन डा.यमबहादुर रोकाको नामबारे जानकारी पाएपछि पुन जीएमसी पुगेका थिए । जीएमसीमा गरिएको MRI बाट उनको मस्तिष्कको Cerebellopontine Angle (CPA) क्षेत्रमा ट्युमर रहेको पुष्टि भयो ।

चिकित्सा भाषामा यसलाई Acoustic Neuroma (Vestibular Schwannoma) भनिन्छ । कानको सुन्ने नसाबाट उत्पन्न हुने यस प्रकारको ट्युमरका कारण बिरामीमा सुन्ने क्षमतामा कमी आउने, मुख बाङ्गिने, बान्ता हुने, कडा टाउको दुख्ने तथा हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । CPA क्षेत्रमा गरिने शल्यक्रिया अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिन्छ ।

डा.रोका अनुभवी न्यूरोसर्जन हुन् र यसअघि पनि उनले हजारौ जटिल न्यूरोसर्जरी सफलतापूर्वक सम्पन्न गरिसकेका छन । उनको नेतृत्वमा गण्डकी मेडिकल कजेजमा गरिएको यस सफल शल्यक्रियाले गण्डकी मेडिकल कलेजलाई देशमै उच्चस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने विश्वसनीय केन्द्रको रुपमा स्थापित गरेको छ । उनले बताए अनुसार,यस्ता रोग केहि प्रतिशत वंशानुगत भए पनि जोकोहीलाई हुन सक्छ ।

डा.बिपिन बजागाईसहितको विशेषज्ञ टोलीले निरन्तर १३ घण्टा प्रयास गरी ट्युमर सफलतापूर्वक हटाएको थियो । डा.रोकाका अनुसार पोखरामै पहिलो पटक यस प्रकृतिको जटिल CPA ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ । केही दिन अस्पतालमै निगरानीमा राखी उपचार गरिएको पुन हाल सामान्य अवस्थामा फर्कँदै छन् । चिकित्सकले सवारी साधन नचलाउन र नियमित फलोअप जाँचमा आउन सल्लाह दिएका छन् ।

बिरामीका भतिज त्रिनेत्र पुन मगरले सफल उपचारप्रति खुसी व्यक्त गर्दै भने, “धेरै ठाउँ धाउँदा पनि रोग पत्ता लागेको थिएन । यहाँ आएपछि काकाको रोग पत्ता लाग्यो र सफल शल्यक्रिया भयो । हामी डा.रोका र सम्पूर्ण चिकित्सक टोलीप्रति निकै आभारी छौं ।”

अस्पताल प्रशासनका अनुसार अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सकको उपलब्धताले जीएमसीलाई जटिल न्युरोसर्जरीका लागि पोखराको भरोसायोग्य केन्द्रका रूपमा स्थापित गरेको छ । यस सफल शल्यक्रियाले निजी क्षेत्रका मेडिकल कलेजहरूले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।

Leave A Reply

Your email address will not be published.