हिराबहादुर कार्की,
मानिसले बारम्बार स्वयम्सँग गर्नैपर्ने प्रश्न एउटै छ, म को हुँ ? अक्सर मानिस यहि प्रश्नसँग भागेर बाँच्छ । मानवीय जीवनको एउटा संवेदनशील विरोधाभास यहि हो । अनिवार्य प्रश्नको उत्तर दिँदैन । धेरैलाई थाहा हुँदैन कि उ आफ्नै जीवनको कर्ता हो कि अस्तित्वको विशाल प्रवाहभित्र एउटा सहभागी मात्रै हो । जसजसले प्रश्न गरे, उनैले दर्शन जन्माए, धर्म जन्माए, विज्ञान जन्माए, जिज्ञासा जन्माए । स्वयमसँगको प्रश्नोत्तरलाई ऋषिजनले साक्षीभाव भने, बुद्धले सम्यक स्मृतिको अभ्यासमा सोही साक्षीभावको झल्को देखे, लाओत्सेले स्वभाविक कर्ममार्फत यो सत्यलाई व्याख्या गरे । भाषा फरक भएतापनि सङ्केत वा अर्थ एउटै छ ।
अहङ्कारको केन्द्रबाट हटेर सजग कर्म गर्ने हरकोहीको अनुभव बदलिन्छ । हामीमध्ये कतिले आफुलाई आफ्नो सफलता र असफलता दुवैको निर्माता मान्छौं ? अक्सर, सफलताको कारण स्वयम्लाई मान्छ र असफलताको कारण अरूलाई । यो मान्यता दैनिक जीवनको हिस्सा हो । तर सत्य के हो ? एक अर्थमा हामी सबैको सफलता र असफलताको कारण हामी स्वयम् नै हौं । सर आइन्सटाइन भन्छन् नि, हाम्रो जीवनको निष्कर्ष जीवनभर हामीले रोजेका चीजहरूको योगफल हो ।
तर के जीवन साँच्चै यति सरल छ ? के प्रत्येक उपलब्धि केवल हाम्रो व्यक्तिगत प्रयासको परिणाम हो ? वा त्यसमा समय, परिस्थिति, समाज, परिवार, अवसर र अनगिन्ती अदृश्य कारणहरूको पनि भूमिका हुन्छ ?
साक्षीभावले जिम्मेवारीबाट भाग्न सिकाउँदैन । बरु यसले जिम्मेवारीलाई अझ गहिरो बनाउँछ । यसको अर्थ केवल यति हो कि हामी कर्म गरिरहँदा आफूलाई सम्पूर्ण घटनाको केन्द्र मान्ने भ्रमबाट बिस्तारै मुक्त हुन थाल्छौँ । त्यसपछि कर्म बोझ रहँदैन, त्यो जीवनसँगको सहकार्य बन्छ ।
आजको समाजमा कर्मलाई परिणामले मापन गरिन्छ । एउटा विद्यार्थीको जीवनमा अङ्कले, कार्यालयमा पदोन्नतिले, व्यवसायमा नाफाले, र सामाजिक सञ्जालमा लाइक, भ्युज र फलोअरले मानिसको मूल्य निर्धारण गरिन्छ । यस्तो संसारमा काम गर्नु स्वाभाविक रूपमा तनावपूर्ण बन्न जान्छ । किनकि हाम्रो ध्यान काममा भन्दा पनि त्यसको प्रतिफलमा केन्द्रित हुन्छ ।
आजको समाजमा कर्मलाई परिणामले मापन गरिन्छ । एउटा विद्यार्थीको जीवनमा अङ्कले, कार्यालयमा पदोन्नतिले, व्यवसायमा नाफाले, र सामाजिक सञ्जालमा लाइक, भ्युज र फलोअरले मानिसको मूल्य निर्धारण गरिन्छ ।
गीतामा श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । यसको अर्थ हामीले बुझेजस्तो कर्म गर फलको आशा नगर भन्ने होइन । यसको गहिरो अर्थ हो, फलप्रतिको आसक्तिले तिमिले गर्ने कर्मको गुणस्तरलाई नियन्त्रण गर्न नदेऊ । जब मानिस केवल परिणामका लागि काम गर्छ, ऊ चिन्तित हुन्छ । फलभन्दा बढी जब काम नै कर्तव्य र मूल्यको अभिव्यक्ति बन्छ, त्यही कामले मानिसलाई परिपक्व बनाउँछ । त्यहिँबाट मान्छेको जीवनमा दिव्य आरोहरण प्रारम्भ हुन्छ । यसलाई बुझ्न कुनै असाधारण उदाहरण आवश्यक छैन ।
रातको दुई बजेको समय छ । एउटा आमा आफ्नो नवजात सन्तानको रुवाइ सुनेर उठ्छिन् । शरीर थाकेको छ । निद्रा अपूरो छ । भोलिपल्ट फेरि बिहान सबेरै उठ्नुपर्छ । तर उनी बच्चालाई काखमा लिन्छिन्, दूध खुवाउँछिन्, सुम्सुम्याउँछिन् र फेरि सुताउँछिन् । बाहिरबाट हेर्दा उनले एउटा सामान्य काम गरिरहेकी हुन्छिन् । तर वास्तवमा त्यो केवल काम होइन । त्यहाँ प्रेम छ, उत्तरदायित्व छ, र आफूभन्दा अर्को जीवनलाई प्राथमिकता दिने चेतना छ । त्यसैले त्यो कर्मले उनीलाई केवल थकित बनाउँदैन । उनीभित्र एउटा आमाको निर्माण चलिरहेको हुन्छ ।
यही कुरा एउटा शिक्षकमा पनि देखिन्छ । वर्षौंदेखि एउटै विषय पढाउँदै आएका शिक्षकले यदि आफ्नो पेशालाई केवल जागिर ठाने भने प्रत्येक दिन उस्तै लाग्न सक्छ । तर यदि उनले प्रत्येक विद्यार्थीलाई एउटा सम्भावनाको रूपमा हेर्न थाले भने हरेक दिन त्यही पेशा पनि नयाँ अनुभव बन्छ । त्यही पाठ, त्यही किताब, त्यही बोर्ड तर शिक्षकको चेतना बदलिँदा कर्मको अर्थ बदलिन्छ ।
त्यस्तै, अस्पतालमा काम गर्ने एक नर्सलाई हेरौं, रातभर बिरामीको हेरचाह गर्नु उसको दायित्व हो । तर सबै नर्स समान हुँदैनन् । कसैले औषधि दिन्छन्, कसैले औषधिसँगै आशा पनि । बाहिरी काम एउटै हुन्छ, तर भित्री मनसाय फरक हुन्छ । यही मनसायले कर्मको गुण निर्धारण गर्छ ।
आजको समाजमा कर्मलाई परिणामले मापन गरिन्छ । एउटा विद्यार्थीको जीवनमा अङ्कले, कार्यालयमा पदोन्नतिले, व्यवसायमा नाफाले, र सामाजिक सञ्जालमा लाइक, भ्युज र फलोअरले मानिसको मूल्य निर्धारण गरिन्छ ।
आज मानिसहरू पहिलेभन्दा धेरै व्यस्त छन्, तर पहिलेभन्दा धेरै असन्तुष्ट पनि छन् । प्रविधिले समय बचाइदिएको छ, तर मानसिक शान्ती बढाएको छैन । किन ? किनभने हामी काम गरिरहेका छैनौं मात्र हामी निरन्तर आफूलाई प्रमाणित गर्न खोजिरहेका छौं र हाम्रो पेशा हाम्रो पहिचान बनिसकेको छ । र असफलता केवल असफलता रहँदैन त्यो हाम्रो आत्मसम्मानमाथिको आक्रमणजस्तो लाग्न थाल्छ ।
दार्शनिक जिद्द कृष्णमूर्तिले भनेका छन्, जहाँ ‘म’ अत्याधिक बलियो हुन्छ, त्यहीँ द्वन्द्व जन्मिन्छ । यो कुरा कर्ममा पनि लागु हुन्छ । जब प्रत्येक काम मेरो सफलता, मेरो नाम, मेरो उपलब्धिका लागि हुन्छ, त्यहाँ थकान स्वाभाविक हुन्छ । तर जब कर्मलाई जीवनसँगको सहकार्यका रूपमा अनुभव गर्न थालिन्छ, त्यहाँ हलुकापन आउँछ । त्यतिबेला मानिस कामको मालिक होइन, कामको माध्यम बन्न थाल्छ ।
यसको अर्थ महत्वाकाङ्क्षा त्याग्नु होइन । संसारमा उत्कृष्ट काम गर्ने मानिसहरू महत्वाकाङ्क्षी नै थिए । तर उनीहरूको महत्वाकाङ्क्षा केवल व्यक्तिगत प्रसिद्धिमा सीमित थिएन । महात्मा गान्धीले स्वतन्त्र भारतको सपना देखे, मदर टेरेसाले सेवाको बाटो रोजिन्, र विक्टर फ्रान्कलले यातनागृहभित्र पनि जीवनको अर्थ खोजे । उनीहरूको कर्म व्यक्तिगत सफलताभन्दा ठूलो उद्देश्यसँग जोडिएको थियो । त्यसैले उनीहरूको कामले केवल संसारलाई होइन, उनीहरूलाई पनि रूपान्तरण गर्यो ।
सायद यही कारणले महान् कामहरू सधैं बाहिरी उपलब्धिबाट मात्र मापन गर्न सकिँदैन । कुनै किसानले रोपेको एउटा बिरुवा, कुनै बुबाले आफ्नो परिवारका लागि गरेको इमानदार परिश्रम, कुनै सफाइ कर्मचारीले बिहान सबेरै गरेको श्रम वा कुनै स्वयंसेवकले नाम नखुलेर गरेको सेवा यी सबै समाजका लागि त्यत्तिकै महत्वपूर्ण छन्, जति कुनै प्रसिद्ध व्यक्तिको उपलब्धि । कर्मको वास्तविक मूल्य हामीले के गर्यौं भन्नेमा मात्र होइन त्यो कर्मले हामीलाई कस्तो मानिस बनायो भन्नेमा पनि हुन्छ । र यतैकतै जीवनको दिव्य आरोहण सुरु हुन्छ ।
आधुनिक समाजले अभूतपूर्व आर्थिक समृद्धि, वैज्ञानिक प्रगति र प्रविधिको विकास हासिल गरेको छ । मानिस चन्द्रमामा पुगेको छ, कृत्रिम बुद्धिमत्ताले नयाँ सम्भावनाहरू खोलिरहेको छ, संसार केही सेकेन्डमै एकअर्कासँग जोडिन सक्ने भएको छ । तर यिनै उपलब्धिहरूको बिचमा मानसिक तनाव, एक्लोपन, चिन्ता र जीवनप्रतिको निराशा पनि बढिरहेको छ । प्रश्न उठ्छ, यदि बाहिरी उपलब्धि मात्र पर्याप्त हो भने मानिसभित्रको यो रिक्तता किन ? सायद यसको उत्तर कर्मको प्रकृतिमा लुकेको छ ।
हामी कामलाई प्रायः दुई भागमा विभाजन गर्छौं, एउटा जीविकोपार्जनका लागि, अर्को व्यक्तिगत जीवनका लागि । तर जीवनले यस्तो विभाजन गर्दैन । हामी कार्यालयमा जस्तो हुन्छौं बिस्तारै घरमा पनि त्यस्तै बन्दै जान्छौं । हामी व्यापारमा जस्तो सोंच विकसित गर्छौं त्यही सोच हाम्रो सम्बन्धमा पनि प्रवेश गर्छ । त्यसैले कर्म केवल बाहिरी गतिविधि होइन त्यो हाम्रो चरित्र निर्माण गर्ने निरन्तर प्रक्रिया पनि हो ।
आज धेरै मानिसहरू आफ्नो पेशा वा कर्मबाट होइन उनीहरू आफ्नै अपेक्षाबाट थाकेका छन् । उनीहरू निरन्तर आफूलाई अरूसँग तुलना गरिरहेका छन् । सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ । अरूको सफलता देखिन्छ, संघर्ष देखिँदैन । अरूको उपलब्धि देखिन्छ, त्यसका लागि उसले चुकाएको मूल्य देखिँदैन । फलस्वरूप, कर्म आनन्दको माध्यम नभई प्रतिस्पर्धाको बोझ बन्न पुग्छ ।
दार्शनिकहरु भन्छन्– मानिसको जीवन उसको विचारले निर्माण गर्छ । यदि यो कुरा सत्य हो भने, हाम्रो कर्म हाम्रो विचारको दैनिक अभ्यास हो । हामी जे बारम्बार गर्छौं, अन्तत त्यही बन्न थाल्छौं । कर्मले संस्कार निर्माण गर्छ, संस्कारले चरित्र निर्माण गर्छ, र चरित्रले जीवनको दिशा निर्धारण गर्छ । यही कारणले कर्मलाई केवल परिणामका आधारमा बुझ्न सकिँदैन, बुझ्नु हुँदैन ।
आज धेरै मानिसहरू आफ्नो पेशा वा कर्मबाट होइन उनीहरू आफ्नै अपेक्षाबाट थाकेका छन् । उनीहरू निरन्तर आफूलाई अरूसँग तुलना गरिरहेका छन् । सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ । अरूको सफलता देखिन्छ, संघर्ष देखिँदैन । अरूको उपलब्धि देखिन्छ, त्यसका लागि उसले चुकाएको मूल्य देखिँदैन । फलस्वरूप, कर्म आनन्दको माध्यम नभई प्रतिस्पर्धाको बोझ बन्न पुग्छ ।यहाँ साक्षीभावको अर्थ अत्यन्त व्यवहारिक छ । साक्षीभाव भनेको संसारबाट अलग भएर बस्नु होइन । यसको अर्थ आफ्ना विचार, भावनाहरू र प्रतिक्रियाहरूलाई पनि हेर्न सक्ने क्षमता विकास गर्नु हो । जिद्द कृष्णमूर्तिले जीवनभर भनिरहे, अवलोकन बिना परिवर्तन सम्भव छैन । हामी स्वयम्लाई नछामिकन परिवर्तन गर्न खोज्छौं । हामी संसार बदल्न चाहन्छौं, तर आफ्ना डर, लोभ, ईष्र्या र अहंकारलाई प्रश्न गर्न चाहँदैनौं । त्यसैले बाहिरबाट सुरु भएको परिवर्तनको यात्रा अधुरै रहन्छ । वास्तविक परिवर्तन भने भित्रबाट सुरु हुन्छ ।
जीवनको आरोहण बाहिरबाट कसैले दिएर हुने उपलब्धि होइन । यो कुनै पुरस्कार होइन, न कुनै अलौकिक अनुभव । यो त प्रत्येक दिन आफैलाई अलि बढी सचेत, अलि बढी करुणामय र अलि बढी इमानदार बनाउने अभ्यास हो ।
जब हामी कर्ता भएको अहंकारभन्दा कर्मको जिम्मेवारीलाई ठूलो मान्न थाल्छौं, जब सेवा प्रदर्शनभन्दा स्वभाव बन्छ, जब काम केवल जीविका होइन जीवनको अभिव्यक्ति बन्छ, तब हामी कुनै असाधारण संसारमा प्रवेश गर्दैनौं, हामी यही संसारलाई नयाँ देख्न थाल्छौं । त्यसपछि काम उस्तै रहन्छ, मानिस उस्तै रहन्छ, संसार पनि उस्तै रहन्छ ।तर बदलिएको हुन्छ, काम गर्ने हाम्रो चेतना ।