सुचना, समाचार र मनोरन्जन

सौगात र गीताञ्जली अभिनित ‘जार’मा समावेश ‘ए ठुलो’

काठमाडौं :

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ’ए ठुली’ बोलको गीत रिलिज गरेको हो।

आगामी बैशाख २६ लाई प्रदर्शन मिति तय गरेको यो फिल्मको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन्। गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन्। सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ।

गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत एरेञ्जको काम गंगा थापाले गरेका छन्। मिक्सिङ र मास्टरिङ विश्व शाहीको छ। फिल्म ‘जार’को शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन्। ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन्।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन्। होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिसँघ सम्झौता भऐको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ। सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.