काठमाडौं :
विजय बरालको मुख्य भुमिका रहेको फिल्म ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ। निर्माण टिमले आइतबार फिल्मको रिलिज डेट आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने जानकारी दिएको छ। उनीहरुका अनुसार यो फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ।
यस फिल्ममा मुख्य कलाकारमा विजयका अलवा मनिष राउत रहेका छन्। यस फिल्ममा आमा र छोराबीचको इमोस्नल कथा रहेको निर्माण पक्षको भनाई छ। यो फिल्मको रिलिज मिती तोके पनि अहिलेसम्म फिल्म छायांकनमा निस्किएको छैन। फिल्मको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो। यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको पाइन्छ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन हो। पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। यस फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ। फिल्ममा नवीन गुरुङ छायांकार,क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन्।