काठमाडौं :
नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि अर्को गीत आउने भएको छ। गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको जानकारी दिएकी छन्।
एटमून इन्टरटेनमेन्टले ‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने मार्ग प्रशस्त गरेको दाबी गरेको छ। यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी छन्। नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन्।
गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गरेको थियो। अमेरिकामा जन्मे–हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ’झ्याइँ’ले नेपाली र भारतीय सङ्गीतप्रेमीहरूलाई साझा साङ्गीतिक यात्रामा पु¥याएको थियो। यस गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ। यस गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो।
‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड फिल्महरू छायाङ्कन गरेका छन्। प्रधानले ’कुसुमे रुमाल’, ’सम्झना’ लगायतका नेपाली फिल्महरू समेत छायाङ्कन गरेका छन्। निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी सङ्गीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए।
उनले भने,‘मैले पहिलो पटक नेपाली र हिन्दी गीतको फ्युजनमा काम गरेको हुँ। नेपाली दर्शकहरूले यसलाई अत्यन्तै मन पराउनु भयो।’
गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका फिल्महरूसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए। कोरियोग्राफी ‘पठान’ र ‘वार’ जस्ता फिल्महरूमा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरको छ।