सुचना, समाचार र मनोरन्जन

कास्कीमा २ वटा अस्थायी मतदान केन्द्र, कैदीबन्दी र कर्मचारीले भोट दिन पाउने

पोखरा,

कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू निर्धारण गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय कास्कीका अनुसार, जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र तोकिएको हो । कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिएको हो भने जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए ।

कास्की जिल्लामा करिब २ हजार ९ सय जना अस्थायी मतदाता रहेको तथ्याङ्क छ । अस्थायी मतदाता नामावली स्वीकृत भइसकेको ढकालले जानकारी दिए । ‘जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शतप्रतिशत हुने देखिन्छ,’ उनले भने, ‘तर जिसस कार्यालयमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने अनुमान छ ।

किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएकै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।’ निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ ।

अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन् । उनीहरूलाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा हुनेछैन ।

Leave A Reply

Your email address will not be published.