पोखरा,
लायन्स क्लब अफ पोखराले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित प्राकृतिक चिकित्सालयमा निर्माण गरेको पृथ्वी भवन हस्तान्तरण गरेको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित भवन शनिबार एक कार्यक्रमबीच लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे का गभर्नर प्रजापति बास्तोलाले उद्घाटन गरी हस्तान्तरण गरेका हुन् ।
क्लबले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सवको अवसर पारेर चिकित्सालयमा आरोग्य भवन निर्माण गरेको हो ।
भवन उद्घाटनपछि गभर्नर बास्तोलाले स्वस्थ जीवनका लागि नियमित आहारविहारसँगै व्यायाम पनि उत्तिकै आवश्यक रहेको बताए । उनले स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै चिकित्सालयमा थप भवन तथा सुविधा विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स क्लब अफ पोखराका संस्थापक कोषाध्यक्ष एवं विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष सुशीलकुमार गोशलीले स्वस्थ रहन चाहनेहरूलाई दैनिक केही समय निकालेर प्राकृतिक चिकित्सालयको सेवा लिन आग्रह गरे । क्लबको स्वर्ण महोत्सवका अवसरमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ थियो ।

विन्ध्यवासिनी मन्दिरमा चढाइएको भेटी तथा विभिन्न संघसंस्थाको सहयोगबाट सञ्चालन हुँदै आएको चिकित्सालयले प्राकृतिक विधिबाट उपचार सेवा प्रदान गर्दै आएको छ । यहाँ जलचिकित्सा, माटो चिकित्सा, योग, प्राणायाम, मसाज, फिजियोथेरापी, एक्युपञ्चर र एक्युप्रेसरलगायतका सेवा उपलब्ध छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले चिकित्सालय विशुद्ध सेवामूलक उद्देश्यले सञ्चालन गरिएको बताए । मन्दिरमा चढाइएको भेटीलाई सामाजिक सेवामा समेत उपयोग गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा चिकित्सालयलाई विकास गर्न खोजिएको उनको भनाइ थियो ।
लायन्स क्लब अफ पोखराका अध्यक्ष डा. माधव तिवारीले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका दीर्घरोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको व्यवस्थापनमा प्राकृतिक चिकित्साले सहयोग पुर्याउन सक्ने बताए । मधुमेह, उच्च रक्तचाप, ढाड तथा जोर्नीको समस्या, मोटोपन, उच्च कोलेस्ट्रोल, अनिद्रालगायत समस्यामा प्राकृतिक उपचार विधि उपयोगी हुन सक्ने उनको भनाइ थियो ।
एलोपेथिक चिकित्सकसमेत रहेका तिवारीले प्राकृतिक चिकित्साको महत्व र सेवाबारे प्रचारप्रसारमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लब अफ पोखराका पूर्वअध्यक्ष दीपेन्द्र कोइराला, देवेन्द्र नकर्मीलगायतले क्लबले गर्दै आएका सामाजिक तथा सेवामूलक गतिविधिबारे धारणा राखेका थिए ।