काठमाडौँ,
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन् ।
निर्वाचन आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक–एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ । त्यसरी खटिएका स्वंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराएका छन् । ती स्वयंसेवकको कामको अनुगमननका लागि विगतमा तोकिएको सम्पर्क व्यक्तिले स्थानीय तहमा अनुगमनको जिम्मेवारी पाएका छन् ।
आयोगले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम निर्वाचनका लागि ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । राजनीतिक दल र उम्मदेवारको सघन प्रचारप्रसार आरम्भ तथा मतदाता शिक्षाको कार्यान्वयनसँगै स्थानीय तह पनि एक प्रकारले निर्वाचनमय भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाकाका प्रमुख मोहनप्रसाद तुम्बापोले निर्वाचन आयोगको निर्देशानुसार आफूहरुले मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउँदै निर्वाचन आचारसंहिताको पालनामा पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले आयोगको निर्देशनबमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै राजनीतिक प्रतिस्पर्धा भए पनि एक अर्कामा मिलेर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने सचेतनामूलक कार्यक्रम गरिएको बताए । उनले निर्वाचन मुलुक विशिष्ट आवश्यकता र लोकतन्त्रको आभारस्तम्भ भएकाले तडकभडकरहित मित्रवत प्रतिस्पर्धाबाट मैदानमा लाग्न सबै दल र उम्मेदवारबाट भूमिका निर्वाह होस् भन्नेतर्फ आफूहरुले सहजीकरण गरिरहेको बताए ।
नुवाकोटको शिवपुरी गाउँपलिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले निर्वाचन आयोगबाट तोकिएका सम्पर्क व्यक्ति (फोकल पर्सन) बाट मत दबर नहोस् भनेर मतदातासमक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र त्यसका पालिकाले आवश्यक समन्वय गरिरहेको बताए । उनले नेपाली सेनालगायत चारै सुरक्षा निकाय र निर्वाचन सुरक्षा प्रहरीसमेतका लागि अस्थायी बसोबासजस्ता काममा पनि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गरिरहेको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा कतिपय स्थानीय तहका संरचना जलाइएका कारण ती तहका भवन र संरचना प्रयोग गराउन असुविधा देखिए पनि निर्वाचनका लागि आवश्यक सहयोग भइरहेको पाइएको छ । निर्वाचन आचारसंहिताको पालनामा पनि स्थानीय तहले सहयोग गरिरहेका छन् । आचारसंहितामा कुनै पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा स्थानीय तहको स्रोतसाधन दुरुपयोग गर्न नपाइने र जनप्रतिनिधिले आफ्नो पालिका बाहेकमा मात्रै आयोगको सहमतिमा दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न पाइने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगबाट तोकिएका मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि गत माघमै जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । आयोगले आमसञ्चारमाध्यमबाट विभिन्न किसिमका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवं प्रसारण गर्न पनि प्रारम्भ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले मतदाताको बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सबै स्थानीय तह, निर्वाचनमा सहभागी दल, उम्मेदवार तथा सञ्चारमाध्यम र सरोकारवालाई आग्रह गरे ।
उनले निर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार र निर्वाचन आयोग तथा सुरक्षा निकायका साथै स्थानीय सरकारले स्रोत, साधनले भ्याएसम्म सहजीकरण भइरहेको बताए ।