सिन्धुपाल्चोक,उमेश केसी
आसन्न निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोक का एक नागरिकले जिल्लाको दीर्घकालीन विकासका लागि १० बुँदे मार्गचित्र सार्वजनिक गरेका छन्। उमेश के।सी।द्वारा प्रस्तुत ‘समृद्ध सिन्धुको मार्गचित्र–२०८२’ नामक प्रस्तावमा स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि, सुशासन र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै उम्मेदवारहरूलाई कार्यान्वयनमुखी प्रतिबद्धता दिन आग्रह गरिएको छ।
निर्वाचनको माहोल बढ्दै जाँदा जिल्लाभर आश्वासन र नाराहरू बढिरहेको अवस्थामा नागरिकस्तरबाट यस्ता ठोस मागहरू आएको उनले बताएका छन्। “हामी अब आश्वासनको माला होइन, कार्यान्वयनको स्पष्ट मार्गचित्र चाहन्छौँ,” प्रस्तावमा उल्लेख छ।
ट्रमा सेन्टरदेखि डिजिटल सुशासनसम्म माग
प्रस्तावमा विशेषगरी अरनिको राजमार्ग क्षेत्रमा हुने दुर्घटनालाई ध्यानमा राख्दै खाडीचौर वा बन्देउमा क्षेत्रीय ट्रमा सेन्टर स्थापना, हेलिप्याड निर्माण तथा २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै भोटेकोशी र सुनकोशी नदीको बाढी जोखिम न्यूनीकरणका लागि वैज्ञानिक तटबन्धन र अर्ली अलर्ट प्रणाली लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
पर्यटन र व्यापारमा नयाँ सम्भावना
सुकुटेलाई ‘डिजिटल नोम्याड’ तथा विवाह गन्तव्यको रूपमा विकास गर्न सके जिल्लामा वर्षैभर पर्यटन चलायमान हुने प्रस्तावमा उल्लेख छ। साथै तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारको कूटनीतिक पहल आवश्यक रहेको बताइएको छ, जसले नेपाल–चीन व्यापारलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ।
सीप, कृषि र रेमिट्यान्सलाई प्राथमिकता
स्थानीय सिकर्मी, डकर्मी र प्राविधिक कामदारलाई राष्ट्रिय प्रमाणपत्र दिने मोबाइल सीप परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने, कृषि उपज ढुवानीमा सरकारी सहुलियत तथा वन्यजन्तुबाट हुने क्षतिको छिटो क्षतिपूर्ति दिनुपर्ने माग पनि समेटिएको छ।
विदेशमा रहेका युवाको रेमिट्यान्सलाई जिल्लाका जलविद्युत र पर्यटन परियोजनामा सुरक्षित लगानी गर्ने वातावरण बनाउनुपर्ने सुझाव पनि प्रस्तावमा समावेश गरिएको छ।
डिजिटल प्रशासनको माग
नागरिकले सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी मोबाइलबाटै सेवा उपलब्ध हुने ‘पेपरलेस प्रशासन’ र विकास बजेटको सार्वजनिक डिजिटल ड्यासबोर्ड सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
नागरिकको स्पष्ट सन्देश
प्रस्तावको निष्कर्षमा उम्मेदवारहरूलाई पद प्राप्तिको अवसरभन्दा बढी जिम्मेवारीको रूपमा जनताको सपना पूरा गर्न आग्रह गरिएको छ।
“तपाईंको विजय केवल चुनाव जित्नु होइन, सिन्धुबासीको भविष्य निर्माण गर्ने अवसर बनोस्,” नागरिक अपिलमा भनिएको छ।