सुचना, समाचार र मनोरन्जन
jaar

स्मार्ट ड्राइभिङ लाइसेन्सको नियमित छपाइ थाल्न अझै एक महिना लाग्ने

काठमाडौँ/

करिब ५ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र स्मार्ट ड्राइभिङ लाइसेन्सको नियमित छपाइ थाल्न अझै एक महिना लाग्ने भएको छ । यसले गर्दा छाप्न बाँकी लाइसेन्सको संख्या पनि थप बढ्दै गएको छ ।

यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै साढे १३ लाख भन्दा माथि छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्ने कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि नियमित लाइसेन्स छपाइ ठप्प छ ।

दैनिक रूपमा प्रदेश अन्तरगतका लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।

विभागका महानिर्देशक उद्धबप्रसाद रिजालका जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी भएको सम्झौता अनुसार यही डिसेम्बर महिनाभित्रै कार्ड आपूर्ति सुरु हुनेछ ।

४ महिनाअघि नै सम्झौता भएपनि लाइसेन्स प्रणाली चलाइरहेको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्डलाई प्रणालीमा फिट हुने गरी पर्सनलाइजेसन गर्न समय लगाएको थियो । यसले गर्दा कार्डको आपूर्तिको अर्डर समेत प्रभावित भएको थियो ।

Leave A Reply

Your email address will not be published.