म्याग्दी/
पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक हिजो (बुधवार) बेलुकीदेखि सञ्चालनमा आएको हो ।

बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सडक खुलेसँगै बीच सडकमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । घुमाउनेभीरको सडकमा खसेको पहिरो पन्छाएपछि अहिले बेनी–दरबाङ सडकमा निर्बाध रूपमा गाडी चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए। वर्षा कम हुँदै गएपछि बेनी–जोमसोम सडकमा पनि पहिरोको अवरोध नभएकाले सहज आवतजावत भइरहेको उनले बताए ।