कैलालीः जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ। यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन्।
जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार मानेनन्, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफूमात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागेका छन्।
विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन्। उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो। उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन्।
उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन्। गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ। उनी भन्छन्, ‘मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठूलो खुसी अरू केही हुँदैन।’ तर, उनको जीवन यात्रा सहज भने थिएन। सानै उमेरमा बुबा–आमा गुमाउनु प¥यो। पारिवारिक सहारा कमजोर बन्दै गयो। दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो। दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन्।
बाल्यकालमा भोगेका अपमान र पीडा आजपनि उनको स्मृतिमा ताजा छन्। गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे। हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो।
यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो। सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो। शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो। उनले बुझ्दै गए शारीरिक क्षमतामा सीमितता भएपनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ।
एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके। त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो। दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन। तर उनले कहिल्यै आफूलाई कमजोर ठानेनन् बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे। अध्यापनसँगै उनले उच्च माध्यमिक तहपनि उत्तीर्ण गरे। कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्दैनन् जीवनका अनुभव पनि साट्छन्। उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ। उनकी श्रीमती पनि दृष्टिविहीन छिन्। १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन्। छोरीले सानो उमेरमै ठूलो जिम्मेवारी बोकेकी छन्। घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन्।
चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ। उनी हिलेकाहीँ गीत गाउछन् भने कविता पनि लेख्छन्। सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भएपनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ। ‘पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन्। गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ। उनी अब केवल एउटा व्यक्तिमात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन्।
उनको विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ। ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनी भन्छन्।