सुचना, समाचार र मनोरन्जन

पोखरामा सेप्टेम्बरमा ‘नोमाड्स बेसक्याम्प २०२६’ आयोजना हुने

पोखरा,

डिजिटल नोमाड, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा रिमोट प्रोफेसनलहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘नोमाड्स बेसक्याम्प २०२६’ आगामी सेप्टेम्बर २५ देखि २७ तारिख (२०२६) सम्म पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। आयोजकका अनुसार यस संस्करणले विगतका संस्करणहरूको निरन्तरता कायम राख्दै सहभागीहरूबीच सहकार्य, ज्ञान आदान–प्रदान, नवप्रवर्तन तथा व्यावसायिक नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ। यस वर्षको कार्यक्रम पोखरा पर्यटन परिषद् (PTC) र साराङ सर्भिसेस प्रालि को संयुक्त आयोजनामा हुन लागेको हो।

सन् २००२ देखि पोखराको पर्यटन क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय रहेको पोखरा पर्यटन परिषद्को संस्थागत नेतृत्व तथा साराङ सर्भिसेसको व्यवस्थापकीय अनुभवले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। दुवै संस्थाबीचको सहकार्य सन् २०२७ सम्मका लागि औपचारिक रूपमा विस्तार गरिएको आयोजकले जनाएको छ। त्यस्तै, नेपालिज यङ इन्टरप्रेनर्स फोरम (NYEF) पोखरा च्याप्टर पनि यस संस्करणको सहकार्यमा रहेको छ।

युवा उद्यमशीलता, नवप्रवर्तन, व्यवसायिक नेतृत्व तथा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्दै आएको NYEF को सहभागिताले रणनीतिक सहकार्य, व्यवसायिक नेटवर्किङ, ज्ञान आदान–प्रदान तथा नेपाललाई उद्यमशीलता, नवप्रवर्तन, पर्यटन र अन्तर्राष्ट्रिय सहकार्यको केन्द्रका रूपमा स्थापित गर्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार अघिल्लो संस्करण नेपाल पर्यटन बोर्ड (NTB) सँगको सहकार्यमा सम्पन्न भएको थियो। यस वर्ष कार्यक्रमप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै आधिकारिक सूचना Nomads Basecamp को आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र आधिकारिक समुदायमार्फत मात्र सार्वजनिक गरिने जनाइएको छ।

कार्यक्रमको नाम वा लोगो प्रयोग गरी अनधिकृत विज्ञापन, वेबसाइट, सामाजिक सञ्जाल पोस्ट, निमन्त्रणा, दर्ता लिंक वा भुक्तानीसम्बन्धी अनुरोधहरू आएमा त्यसप्रति सचेत रहन आयोजकले आग्रह गरेको छ। कुनै पनि दर्ता, व्यक्तिगत विवरण उपलब्ध गराउन वा भुक्तानी गर्नुअघि आधिकारिक माध्यमबाट जानकारी प्रमाणीकरण गर्न पनि अनुरोध गरिएको छ। कार्यक्रमको वैधता, साझेदारी, प्रायोजन वा अन्य कुनै विषयमा शंका भएमा नोमाड्स बेसक्याम्प टोली वा पोखरा पर्यटन परिषद् सँग प्रत्यक्ष सम्पर्क गरी पुष्टि गर्न आयोजकले आग्रह गरेको छ। यस संस्करणलाई अघिल्ला संस्करणभन्दा अझ सफल बनाउन थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि समावेश गर्ने प्रक्रिया जारी रहेको जनाउँदै आयोजकले सम्पूर्ण समुदाय, साझेदार तथा सहभागीप्रति विश्वास र सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै, नोमाड्स बेसक्याम्प २०२६ लाई पोखरामा अर्को प्रभावशाली र स्मरणीय अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.