पोखरा,
पोखराको तुलसीघाटमा सुविधासम्पन्न दाहसंस्कार स्थल निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे का गभर्नर प्रजापति बास्तोलाले शनिबार संयुक्त रूपमा दाहसंस्कार स्थलको शिलान्यास गरेका हुन् ।
लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सवको अवसर पारेर सामाजिक सेवाअन्तर्गत उक्त परियोजना अघि बढाएको हो ।
सेती नदी किनारमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गर्दा भोग्नुपरेको कठिनाइलाई सहज बनाउने उद्देश्यले व्यवस्थित दाहसंस्कार स्थल निर्माण गर्न लागिएको क्लबका पूर्वअध्यक्ष तथा डिस्ट्रिक्ट एनएलएफ चिफ दीपेन्द्र कोइरालाले जानकारी दिए ।

उनका अनुसार नदी किनारमै निर्माण हुने दाहसंस्कार स्थललाई प्राविधिक नापजाँचका आधारमा सुरक्षित र सुविधासम्पन्न बनाइनेछ । नदीमा पानीको बहाव बढ्दा समेत क्षति नपुग्ने गरी संरचना निर्माण गर्ने योजना छ । दाहसंस्कार स्थलसम्म पुग्ने बाटो, मलामीका लागि बस्ने व्यवस्था र शौचालयसमेत निर्माण गरिनेछ ।
क्लबले परियोजनाको प्रारम्भिक कामका लागि २५ लाख रुपैयाँ छुट्याएको छ । गुरुयोजनाअनुसार थप पूर्वाधार निर्माण हुँदै जाँदा लागतसमेत बढ्ने जनाइएको छ । निर्माणपश्चात् दाहसंस्कार स्थलको व्यवस्थापन क्लबले वडा कार्यालयसँगको समन्वयमा गर्नेछ ।
यसैबीच, क्लबले शनिबार नै विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण गरेको आरोग्य भवनसमेत हस्तान्तरण गरेको छ ।
पोखरामा ५० वर्षअघि स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ लायन्स क्लब हो । पोखराका अग्रज व्यवसायी, शिक्षासेवी तथा समाजसेवीहरूको पहलमा स्थापना भएको क्लबका संस्थापक अध्यक्ष पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जर्ज जोन हुन् । हालसम्म क्लबले ४४ जना अध्यक्ष पाइसकेको छ ।
क्लबले आगामी मंसिर ५ गते स्वर्ण महोत्सव मनाउँदैछ । उक्त अवसरमा क्लबको स्थापनादेखि हालसम्म योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै, क्लबका पाँच दशकका गतिविधि समेटिएको पुस्तकसमेत विमोचन गरिने जनाइएको छ ।