काठमाडौं :
फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन्। उनलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको जनाएको छ।
अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएका छन्। उनले यस फिल्मले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन्।
यसअघि यो फिल्ममा आर्यन सिक्देल, रमेश उप्रेती,पल शाहका अलवा अभिनेत्रीहरुमा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन्। परिच्छेद सेनको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा जयकिशन बस्नेत समेत रहेका छन्। निर्देशक सेन स्वयंको लेखन रहेको यो फिल्मका लागि निर्माण पक्ष पनि उत्साहित देखिएको छ। उनले यसअघि निर्देशक सेनले फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। जुन समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। टोपेन्द्र विष्ट,चक्रबहादुर केसी र रवि खड्काले फिल्ममा लगानी गर्न लागेका हुन्। यो फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।