सुचना, समाचार र मनोरन्जन

‘राम नाम सत्य’को छायांकन चितवनबाट सुरु, ८० प्रतिशत दृश्य त्यहीँ खिचिने

चितवन :

यो वर्षको बहुप्रतिक्षित नेपाली फिल्म ‘राम नाम सत्य’को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित धर्मधाम कृष्ण मन्दिरमा शुक्रबार आयोजित कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले क्ल्याप बोर्ड बजाउँदै छायांकनको शुभारम्भ गरेका हुन्।

निर्देशक माइकल चन्दका अनुसार फिल्मको करिब ८० प्रतिशत दृश्य चितवनमै खिचिनेछ । उनले भने, “रत्ननगर, सौराहा लगायतका सुन्दर स्थानमा फिल्म खिचिँदैछ। बाँकी १० दिनको सेड्यूल मुस्ताङमा हुनेछ ।” फिल्मको छायांकन ४० दिन चितवन र १० दिन मुस्ताङमा गरी ५० दिनमा पूरा गर्ने योजना छ।

लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले चितवनमा फिल्मको मुख्य छायांकन हुनुले स्थानीय पर्यटन र फिल्म सिटीको अवधारणालाई प्रोत्साहन दिने बताए । उनले भने, “चितवनका प्राकृतिक सुन्दरतालाई पर्दामा उतार्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्छ ।”

‘राम नाम सत्य’मा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायत कलाकारको अभिनय रहनेछ । साथै, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पुजन लामिछाने विशेष भूमिकामा देखिनेछन्।

फिल्मका निर्माता उपेन्द्र शाही र स्वेता बिमली हुन् भने कार्यकारी निर्माता किशोर भट्ट र राजेन्द्र भट्ट रहेका छन् । मोती कार्की क्रियटिभ निर्माता, मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारी संगीतकारका रूपमा जोडिएका छन् । विजय बस्यालले पब्लिसिटी डिजाइन र विदुषी थापाले प्रोडक्सन डिजाइन सम्हाल्नेछन्।

एक्सन, सस्पेन्स र प्रेम मिश्रित कथामा तयार हुन लागेको ‘राम नाम सत्य’लाई निर्देशक माइकल चन्दले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेका छन्। फिल्म यही वर्षको चैत्र २७ गते रिलिज गर्ने तयारी गरिएको छ।

Leave A Reply

Your email address will not be published.