सुचना, समाचार र मनोरन्जन

अमेरिकाको पहिलो नेपाली बैंकको ब्रान्ड एम्बेस्डरमा सरिता लामिछाने

काठमाडौं :

अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्था)को ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन्। नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरमा यी अभिनेत्री अनुबन्धित भएकी हुन्।

बैंकको तेश्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ। संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो।
बैंकका बर्तमान अध्यक्ष डा. मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेकाकारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको बताए।

न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ। यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छन्।

‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो। सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु,’ सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु। मैले ब्रान्ड एम्बेस्डरको रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु।’

यो बैंकका सिईओ बिराज रिजालले ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको छन्। लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवार बृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। यो बैंकको अन्य राज्यहरुमा पनि शाखा खोल्ने तयारी भईरहेको पनि सिईओ रिजालले बताएका छन्।

Leave A Reply

Your email address will not be published.