सुचना, समाचार र मनोरन्जन
Pdms

उद्यमशील तालिमले जीवनमा परिवर्तन आउँछः अध्यक्ष विजुक्छे

पोखरा, 

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले क्षमता अभिवृद्धिका लागि उद्यमशील तालिम लिएका विद्यार्थीको जीवनमा जरुर परिवर्तन आउने दावी गरे । विजुक्छेले सफल उद्यमीले आफ्नो विचारबाट उत्पादन सुरु गर्ने हुँदा ऊ मालिक बन्छ र पढेकालाई रोजगार दिन्छ । तालिम लिएपछि पढ्दै कमाउँदै गर्न सकिने बताए ।

जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तिन दिने उद्यमशील सहयोगी तालिमको समापन समारोहको प्रमुख अतिथिका रूपमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र दिँदै विजुक्छे उक्त धारणा राखेका हुन् ।

उद्यमशील तालिमका सहभागी छात्राहरूलाई अतिथि वक्ताका रूपमा थ्रि सिस्टर एड्भेन्चर ट्रेकिङकी संस्थापक अध्यक्षले लक्की कार्की क्षेत्रीले अभिप्रेरित गरेकी थिइन् । क्षेत्रीले आफ्नो ३ दशक लामो अनुभव र असल अभ्यासबारे जानकारी गराउँदै डिग्रीको पढाइ पूरा गरेपछि धेरै ठाउँबाट जागिरका लागि अफर आएको थियो तर आफू जागरिपट्टी नलागी महिलाको जीवनस्तर उकास्न पर्यटन उद्यममा होमिएको बताइन । नयाँ काम गर्न सुरुमा सास्ती भए पनि निरन्तरताले सफलता पाइने हुँदा सामाजिक उद्यमशीलतामा जोडिन आग्रह गरिन ।

सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, उपप्रशासक एकनारायण अर्याल, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् प्रमुख सहजकर्ता सविता श्रेष्ठ रञ्जित, अनुपमा तिवारी लगायतका वक्ताले उद्यमशील तालिमपछि केही गर्छु भन्ने भावना र सपना देख्न सके तालिमको सार्थकता हुने, सानो कामलाई पनि फरक सोचमा गर्न सके स्वरोजगार र व्यावसायिक बन्न सकिने विचार व्यक्त गरे ।

प्रशिक्षार्थीद्वय सिर्जना विष्ट र सिर्जना के।सी।ले आफ्नो अनुभव सुनाउँदै भने, अपेक्षाअनुसार तालिम सञ्चालन हुँदा उद्यमशीलताको ढोका खुलेको र उद्यम गर्ने आँट र साहस भरिएको विचार व्यक्त गरे । तालिम अवधिमै फालिएर जाने प्राकृतिक रेशाबाट फूल र बुके बनाउन जानिएको हुँदा फोहर भनिने चिजलाई सही सदुपयोग गर्दा मोहरमा रूपान्तरण गर्न सक्ने रहेछौँ भन्ने जानकारी पाएको बताए । यही जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालित तालिममा विविएस, विआइएम र विएमटिमका २७ जना छात्राहरूको सहभागिता रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.