काठमाडौं :
काठमाडौंमा बिहिबार फिल्म ‘गोर्खा वारियर’को भव्य टिजर रिलिज गरिएको छ। आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने तयारीमा रहेको फिल्मको टिजर रिलिज गरिएको हो।
मिलन चाम्सले निर्देशन गरेको फिल्मको २ मिनेट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न संघर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको कथामा यो फिल्म केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कती कठिन थियो र सो युद्धमा गोर्खा सैनिकहरुले कति संघर्ष गर्नु पर्यो भन्ने कुराको सारांश आज रिलिज ट्रेलरमा देखाईएको हो।
फिल्मको ट्रेलरमा सम्बन्धित फिल्मको कथा लुकाईए पनि गोर्खा वारियरको ट्रेलरले धेरै कुरा बोलेको अनुभव गर्न सक्र्छौँ । ट्रेलर कार्यक्रममा निर्देशक चाम्सले थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको बताए।
तथापि सिनेमा भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।
उनले भने,‘वीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । बीरताका ती कथा बिस्तारै हराउँदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेका हौं ।’
अन्तराष्ट्रिय जगतमा दर्शकको मन जितेको यो फिल्मले नेपालका दर्शकको पनि मन जित्ने विश्वास उनले व्यक्त गरे । यहि फिल्मबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले आठ वर्षको तयारी पश्चात आज अभिनेताको रुपमा यो फिल्ममार्फत आफु आएको बताए । आफु गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफुलाई केही सजिलो भएको उनले बताए ।
सार्वजनिक भएको ट्रेलर अनुसार ३१ अगष्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेशिया) त्यसअघि बेलायतको अधिनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका बिद्रोही समुहले १९४० को सुरुवात देखिनै बेलायती शासक बिरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए । सुरुको चरणमा बेलायती सैनिकलाई समेत ति बिद्रोहीहरुले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुन पठाईएको गोर्खा सैनिकले मलायाको जँगलमा सन १९४९ मा गरेको भिषण युद्धको झलक ट्रेलरमा समेटिएको छ ।
युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाईन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ ।
फिल्म गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहांसिक रेड कार्पेट प्रिमियर गरिएको थियो। फिल्मले त्यसपछि अन्तराष्ट्रिय जगतमै चर्चा पाएको थियो। । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएको छ। जसले गर्दा पछि यसको चर्चा झनै बढेको हो।
यो फिल्म नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । नेपाली संस्करण तयार भईसकेको यो फिल्म हिन्दी, कोरियन र अंग्रेजीमा समेत डब हुँदैछ। फिल्ममा अभिनेता रितेशका अलवा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्। अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो फिल्मका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै फिल्ममा डेब्यु गरेका हुन् ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।
यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।