काठमाडौं:
नेपाली दर्शकमा निकै कौतुहलता रहेको फिल्म ‘पुजार सार्की’आउदो जेठ १० गते रिलिज हुदैछ। फिल्मका बारेमा यस फिल्मका कलाकारहरु आ–आफ्नो बारेमा चर्चा गरिरहेका छन्। आ–आफ्ना गोप्य कुराहरु भन्दै मिडियामा चाहारिरहेका छन्। यहि फिल्मबाट फिल्मका मुख्य कलाकार पल शाह पनि निकै आशाबादी देखिएका छन्। उनी फिल्मबाट निकै उत्साहित भएको पाइन्छ।
फिल्म मायावीको सुटिङका लागि तराईमा रहेका उनले आफ्नो भुमिका फिल्म ‘पुजार सार्की’मा अन्य कलाकार प्रदीप खड्का,आर्यन सिग्देल जतिकै पावरफूल रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको उल्लेख गरेका छन्। उनले आफु अहिले फिल्मको छायांकनको सिलसिलामा जनकपुर पुगेको जनाउँदै आफु आफ्नो फिल्मको ट्रेलरमा आउन नसकेको जानकारी दिएका छन्।
उनी भन्छन्,‘म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु । मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु।”
फिल्मका अन्य कलाकार आर्यन सिग्देल र प्रदीप खड्कासँगको एक तस्बिर शेयर गर्दै उनले आफ्ना प्रशंसकहरुबाट गुनासा र प्रतिक्रियाहरु पाइरहेको उल्लेख गर्दै फिल्ममा छोटो रोल रहेको खुलाएका छन्।
‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ,’उनले लेखेका छन्।
उनी यतिमा मात्रै अडिक छैनन्। उनले निर्देशकले जति फिल्ममा देखाएका छन्। त्यस्तैै छोटो भुमिकामा आफु रहेको उल्लेख गरेका छन्।
उनले अगाडि लेख्छन्,‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ। चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है।’
पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरिएको भन्दै खुसी व्यक्त गरेका छन्। दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन्।