सुचना, समाचार र मनोरन्जन

निर्वाचन र सिनेमा बजार : एक दिनको बन्दले कति पार्ला असर?

काठमाडौं :
प्रतिनिधि सभा निर्वाचनका कारण सिनेमा क्षेत्रले एक दिनका लागि ब्रेक लिने भएको छ। फागुन २१ गते देशभरका चलचित्र हलहरू बन्द रहने लगभग निश्चित भएको हो। मतदान प्रक्रियामा कर्मचारीहरूको सहभागिता सुनिश्चित गर्न यस्तो निर्णय लिन लागिएको बताइएको छ।

प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघले यस विषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ। संघका उपाध्यक्ष गोपालकाजी कायस्थका अनुसार बुधबार बस्ने बैठकले हल बन्दसम्बन्धी निर्णय सार्वजनिक गर्नेछ। यद्यपि, केही हलहरूले भने संघको निर्णयअघि नै निर्वाचनको दिन सेवा स्थगित रहने सूचना जारी गरिसकेका छन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले निर्वाचनको दिन हल बन्द रहने र कर्मचारी व्यवस्थापनका कारण फागुन २० र २२ गते पनि केही स्थानमा शोहरू प्रभावित हुन सक्ने जनाएको छ।

चुनावी माहोलले सिनेमा बजारमा प्रत्यक्ष प्रभाव पारेको छ। पछिल्ला दिनहरूमा हलहरूमा दर्शक संख्या न्यून देखिएको छ। हाल प्रदर्शनरत नेपाली फिल्ममध्ये आ बाट आमाले तुलनात्मक रूपमा दर्शक पाएको छ भने कुमारी, प्रवासी जीवनरमिताको पिरती अपेक्षाअनुसार चल्न सकेका छैनन्। विदेशी फिल्मतर्फ ओ रोमियो, स्क्रिम ७क्राइम १०१ प्रदर्शनमा छन्।

निर्वाचनपछि रिलिज लाइनअप फेरि सक्रिय हुने देखिएको छ। फागुन २९ गते लालिमा प्रदर्शनमा आउनेछ। चैत महिनामा हामी तीन भाइ, राम नाम सत्य३६ को आँकडा प्रदर्शन हुनेछन्। साथै चैत पहिलो साता दक्षिण भारतीय फिल्म टक्सिक र बलिउडको धुरन्धर २ रिलिज हुने तयारीमा छन्। एक दिनको बन्दले हल व्यवसायमा असर पार्ने भए पनि निर्वाचनपछि बजार पुनः चलायमान हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.