सुचना, समाचार र मनोरन्जन

शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती

काठमाडौँ/

नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सुरू गरेको राजधानी केन्द्रित आन्दोलन शुक्रबार १७ दिन पूरा भएको छ ।

सधैँ व्यस्त रहने माइतीघर–बानेश्वर सडक क्षेत्रमा दिनदिनै हुने आन्दोलन र विरोध प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा चुनौती भने खडा गरिरहेको छ ।

नियमित जस्तो हुने सडक जामले गन्तव्यमा निस्केका यात्रुले सास्ती खेप्न परिरहेको छभने सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई कर्तव्य पूरा गर्न धौधौ परेको छ ।

मूल सडकबाट यात्रा गर्न नपाएपछि यात्रु वैकल्पिक रूपमा करिडोरका सडक प्रयोग गर्न बाध्य हुनुपरेको छ । समयमै गन्तव्यमा पुग्न नपाएर कतिपय यात्रु छट्पटिरहेको देखिन्थ्यो । सडक जामले यात्रुलाई थोरै दूरी पार गर्न पनि घण्टौँ समय लाग्ने गरेको गुनासो छ । व्यस्त सडकमा हुँदै आएको प्रदर्शनीले दिनभरजसो नै उपत्यकाभित्रका वैकल्पिक मार्ग र खोला करिडरमा सवारी चाप बाक्लो हुने गरेको छ ।

तथापि, शिक्षक आन्दोलनको हालसम्मको प्रदर्शनी र भएका क्रियाकलापले राजनीतिक दललगायत अरूलाई प्रेरणा दिने शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । शान्तिपूर्ण भनिए पनि काठमाडौँको मूल सडकमै आन्दोलन गरिएकाले सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ ।

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने, नाचगान गर्ने, जादु देखाउने, चुड्किला भन्नेजस्ता गर्दै आएका छन् । आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, खैजडी, मादलसहित आन्दोलनमा सहभागी भएका छन् ।

स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाएका छन् ।

चर्काे घामकाबीचमा पनि आन्दोलनकारी शिक्षक सडकमा छमछमी नाच्ने, एक्लै वा गु्रपमा सेल्फी खिच्ने कार्यमा व्यस्त देखिन्छन् । आन्दोलनमा जिल्ला र पालिकास्तरबाट समेत शिक्षकको सहभागिता भएको देखिन्छ । महासङ्घले आन्दोलनलाई उचाइमा पुर्याउन साथ, सहयोग र समर्थनका लागि सबैसँग आह्वान गरिरहेको छ ।

पछिल्लो समय प्रत्येक दिन बिहान १२ः०० बजे माइतीघर–बबरमहल भेला भई व्यानरसहित जुलुस प्रदर्शन गर्ने, सडकमै भाषण ठोक्ने र गीत सङ्गीतसहित नाचगान गर्नु आन्दोलनरत शिक्षकको दैनिकी नै बनेको छ । आन्दोलनलाई थप उचाइमा पुर्याउन सहभागीको सङ्ख्या वृद्धिका लागि दबाब सृजना गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरीको व्यवस्था मिलाइएको छ ।

आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ ।

सुरुवाती दिनका तुलनामा पछिल्ला दिनमा सहभागीको सङ्ख्या बढेको शिक्षक आन्दोलनका अगुवा बताउँछन् । शिक्षकको आन्दोलनलाई बल प्रदान गर्न कतिपय सङ्घसंस्थाले निःशुल्क खानेपानीको व्यवस्था गरेका छन् । आन्दोलनमा देखिने नाचगान, गीतसङ्गीत र विभिन्न कला प्रदर्शनीले माइतीघर–बानेश्वर खण्डमा आन्दोलनकारीलाई थप रौनकता प्रदान गरेको छ । आन्दोलन क्षेत्रमा फलफूल, पानी र अन्य हल्का पेय पदार्थको सडक व्यापार भने मौलाएको छ ।

यसैबीच, सरकारले पनि आन्दोलनरत शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन पटकपटक अनुुरोध गरिरहेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान समेत गरिरहेको छ ।

सरकारले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यस निम्ति निरन्तर संवादमा रहेको जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.