पोखरा,
पोखरालाई नेपालको प्रमुख सूचना प्रविधि (आईटी) केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित फिस्टेल माउन्टेन कलेज (एफएमसी) ले साइबर सुरक्षा क्षेत्रमा नयाँ पहल थालेको छ। कलेजले विद्यार्थीलाई सीप विकास, उद्योगसँगको प्रत्यक्ष सम्बन्ध र रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले भैरव टेक, इनरेड ल्याब्स र साइबर युनिभर्ससँग रणनीतिक साझेदारी गरेको हो।
कलेजका अनुसार उक्त सहकार्यले साइबर सुरक्षा क्षेत्रमा व्यावहारिक ज्ञान, इन्टर्नसिप तथा करिअर विकासका अवसर सिर्जना गर्नेछ। यसअघि कलेजले कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, बिग डाटा र क्लाउड कम्प्युटिङमा केन्द्रित BSc (Hons) Computer Science कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अब साइबर सुरक्षा कार्यक्रमलाई थप सुदृढ बनाउँदै विद्यार्थीलाई प्रत्यक्ष रूपमा उद्योगसँग जोड्ने लक्ष्य लिइएको छ।
एफएमसीले पोखरालाई पर्यटनको मात्र होइन, सफ्टवेयर विकास, साइबर सुरक्षा र उदीयमान प्रविधि उद्योगको केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ। काठमाडौंस्थित भैरव टेक र इनरेड ल्याब्स तथा बेलायतको बोल्टनस्थित साइबर युनिभर्ससँगको सहकार्यले पोखराको प्राविधिक इकोसिस्टमलाई थप मजबुत बनाउने विश्वास कलेजको छ।
कलेजका अध्यक्ष सुलभ बुढाथोकीले यस पहलले पोखरालाई नेपालको अर्को प्रमुख सूचना प्रविधि केन्द्र (आईटी हब) का रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। उनका अनुसार यस सहकार्यबाट पोखराका युवाले काठमाडौं वा विदेश नगई आफ्नै सहरमा साइबर सुरक्षा र सूचना प्रविधिको क्षेत्रमा अध्ययन, सीप विकास तथा करिअर निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्।
एफएमसीले साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रम, तालिम, इन्टर्नसिप र अन्य अवसरबारे थप विवरण क्रमशः सार्वजनिक गरिने जनाएको छ।