सुचना, समाचार र मनोरन्जन

कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ,

निर्वाचन आयोगले चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कलाकार र इन्फ्लुएन्सरहरूको भूमिका निर्णायक हुने बताएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरी कलाकार, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग आज भएको भएको अन्तरक्रियामा आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्रको मेरुदण्ड चुनाव भएको बताए।

सचिव राउतले विगतका चुनावमा कलाकारहरूले पुर्‍याएको योगदानको कदर गर्दै यस पटक पनि मतदाता शिक्षामा रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो । उनले सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अफवाहले लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेकाले त्यसलाई चिर्न र सही सूचना प्रवाह गर्न इन्फ्लुएन्सरहरूलाई सक्रिय हुन अनुरोध गरे।

आयोगले कलाकारहरूलाई कुनै दल वा उम्मेदवारको पक्ष नलिई ‘सद्भावना दूत’ का रूपमा राजनीतिक तटस्थता कायम गर्दै आमनागरिकलाई मतदानका लागि प्रेरित गर्न विशेष जोड दिएको छ ।

आयोगले मतदान गर्ने सही तरिका सिकाउन, मताधिकारको महत्त्व बुझाउन र बदर मतको प्रतिशत न्यूनीकरण गर्न कलाकारहरूको गीत, नाटक र भिडियो सामग्रीहरूले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

चुनावलाई भय र निराशाको सट्टा उत्सव र गौरवका रूपमा मनाउन सचिव राउतले सबैमा आह्वान गरे ।

Leave A Reply

Your email address will not be published.